Home / Featured / नेपालमा डिजिटल फरेन्सिक र यसको कार्यक्षेत्र

नेपालमा डिजिटल फरेन्सिक र यसको कार्यक्षेत्र

लेखक : भरत श्रेष्ठ

सामाजिक सेवाको क्षेत्रमा डिजिटल फरेन्सिकको उपयोग गरिनु वा सम्बोधन गरिनु आजको आवश्यकता बनिसकेको छ । डिजिटल फरेन्सिक विषय फरेन्सिक विज्ञानको पछिल्लोपटक देखापरेको एउटा हाँगा हो । परिभाषागत रूपमा भन्नुपर्दा सञ्चित विद्युतीय सूचना (Electronically Stored Information) को गहिरो अध्ययनलाई हामी Digital Forensic भन्छौं । डिजिटल प्रविधि वा सूचना प्रविधिसँग सरोकार राख्ने तथा यसबाट सेवा पुर्याइरहेकाहरूका लागि यो एकदमै सरोकारको विषय पनि हो । डिजिटल प्रविधिको बढ्दो प्रयोग तथा उपयोगका कारण यसले हाम्रो समाजमा निकै नै असर पारिराखेको छ ।

विकसित राष्ट्रहरूमा सूचना प्रविधि सामाजिक सेवाको क्षेत्रमा अत्यधिक प्रयोग भएको पाइन्छ भने हाम्रोजस्तो विकसोन्मुख राष्ट्र सूचना प्रविधिप्रति आकर्षिकत हुँदै यसप्रति अग्रसर हुँदै गइरहेको अवस्था छ । हाल न्यायालय, लाइसेन्स, नागरिकता, राजस्वलगायतका क्षेत्रमा प्रविधिको प्रयोगले समाजमा सेवाग्राहीहरूलाई धेरै हदसम्म राहत पुगेको हुनुपर्दछ वा राहत पुग्नेछ भने अरू क्षेत्रमा पनि यसको उपयोग विस्तार हुने क्रममा छ र विस्तार गरिनुपर्दछ । अर्थात् डिजिटल प्रविधिप्रति आकर्षित हुनु एकदमै राम्रो पक्ष हो । यसलाई व्यवस्थित गर्नु भने चुनौतीपूर्ण विषय हो ।

विशेपगरी, प्रविधिसँगका गतिविधिहरू विकास वा वृद्धि भइरहँदा यसले उत्तिकै समस्या र अपराधजन्य विकृतिहरू पनि बढाएको छ । अतः यो सम्बन्धित निकायलाई एकदमै चुनौतीपूर्ण भइरहेको अवस्था छ । यस किसिमको चुनौती हाम्रो जस्तो गरिब राष्ट्र मात्र नभई विकसित राष्ट्रका लागि पनि टाउको दुखाइको विषय बनिरहेको छ ।

यस्तै किसिमका नकारात्मक गतिविधि वा प्रविधिसँग जोडिएका विकृतिहरूलाई व्यवस्थित गर्न यसमा कानूनी पक्ष, यससँग सरोकार राख्ने र कानून पालना गराउने निकायबीचको राम्रो समीकरण वा समन्वय हुनु जरूरी हुन्छ । त्यो समीकरण वा समन्वय भनेको सञ्चित विद्युतीय सूचनाको अध्ययन (डिजिटल विधि विज्ञान अर्थात् डिजिटल फरेन्सिक) विधि हो, जसले सर्वमान्य मापदण्ड निर्धारण गर्न सक्छ । यस किसिमको मापदण्डले निम्न कुरामा फाइदा हुने देखिन्छ ।

कानूनी दृष्टिकोणमा : गलत कार्य वा विकृतिलाई अपराधी ठहर गर्दै दण्ड र पीडितलाई उचित क्षतिपूर्ति ।
सार्वजनिक क्षेत्रमा : प्रविधिको क्षेत्रमा सरोकार राख्नेहरूका लागि प्रोत्साहन, सेवाग्राहीहरूको यसप्रति आकर्षण तथा विश्वसनीयतामा अभिवृद्धि ।
राज्यको दृष्टिकोणमा : आवश्यकीय विद्युतीय गतिविधिलाई व्यवस्थापन तथा भरपर्दोपना अर्थात् विद्युतीय सुशासन (ई–गभर्नेन्स)को जनतालाई प्रत्याभूति ।
यी सबै दृष्टिकोणलाई समष्टिगत रूपमा भन्ने हो भने प्रविधिको व्यापकताले गर्दा यसले सार्वजनिक सेवाको क्षेत्रमा बलियो मेरूदण्डको भूमिका निर्वाह गरेको महसुस हुन्छ । विश्वस्तरको गतिविधिलाई मध्यनजर गर्ने हो भने डिजिटल फरेन्सिकका कुरा गर्दा विशेषगरी यसले ३ ओटा कार्यक्षेत्रलाई ओगटेको महसुस हुन्छ ।
१. उपकरणको स्वास्थ्य अवस्था
२. अपराध अनुसन्धान
३. इन्टेलिजेन्समा अभिवृद्धि

उपकरणको स्वास्थ्य अवस्था
सार्वजनिक सेवाको क्षेत्रमा सम्बन्धित संस्थाले विभिन्न किसिमका उपकरणहरू जडान गरेको हुन्छ । यदि त्यो जडान गरिएको उपकरणको स्वास्थ्य नै ठीक छैन भने त्यसले सेवाग्राहीलाई भरपर्दो सेवा दिइरहेको भन्नेमा विश्वस्त हुने ठाउँ कम रहन्छ । अर्थात् उपकरणको स्वास्थ्य ठीक छ वा छैन भन्ने आधार के हो, जसले गर्दा सेवाग्राहीले भरपर्दो सेवामा निश्चित रहोस् ।

उदाहरणको लागि कसैले एक फ्रड (नक्कली) कार्ड प्रयोग गरी एटिएमबाट रकम निकाल्ने प्रयास गर्छ भने त्यो अपराधी ठहर्छ । तर, सही कार्ड प्रयोग गरी एटिएमबाट पैसा निकाल्ने कोसिस गर्दा पैसा प्राप्त हुँदैन । तर, खातामा त्यसको असर देखा पर्दछ भने त्यसको विश्लेषण कसरी गर्ने ? (हुन सक्छ यसको सम्भावना कम रहला । तर, यस्तो नहोला भन्न सकिन्न) । अतः यसको उपकरणको स्वास्थ्य स्थितिबार सम्बन्धित सबैले हेक्का राख्नुपर्दछ भने सम्बन्धित निकायले यसको नियमन गर्नुपर्दछ ।

अपराध अनुुसन्धान
समाजमा शान्ति र सुव्यवस्था कायम गर्नु राज्यको प्रमुख कार्य हो । सोहीअनुरूप राज्यका विभिन्न अंगहरू परिचालित भएका हुन्छन् र अहिलेको यो समाजलाई विभिन्न आधुनिक प्रविधिले निकै नै आकर्षित र प्रभावित गरेको छ, जसले गर्दा समाजका हरेक व्यक्तिको दैनिकीमा गति आएको छ । यसमा कसैको दुईमत नहोला कि यसको कारकतत्व भनेको सूचना प्रविधि नै हो । जसरी यसले समाजका हरेक व्यक्तिको दैनिकीलाई गति प्रदान गरेको छ, त्यसरी नै समाजमा रहेका गलत मानसिकता भएका व्यक्तिहरूका लागि पनि आपराधिक कुकर्मका लागि सहज र गति पनि दिएको छ ।

यस किसिमका मानसिकता भएका व्यक्तिले प्रयोग गर्ने मोबाइल, कम्प्युटरलगायतका उपकरणहरू तिनीहरूको सहयोगी भइदिएका छन् । अतः तिनीहरूले प्रयोग गर्ने यस्ता उपकरण तथा त्यसमा निहित रहेको सूचनाहरूको अनुसन्धान गर्ने हो भने अपराधी, अपराधको कारकलगायत विभिन्न जानकारी प्राप्त गर्न सकिन्छ । सिडिआर (CDR) लाई लिएर गरिने अनुसन्धान यसको उदाहरण हो ।

इन्टेलिजेन्समा अभिवृद्धि
देशमा भएको विभिन्न राजनीतिक परिवर्तनलाई हेर्ने हो भने सुरक्षा निकायको इन्टेलिजेन्सको उपस्थिति म्यानुअल सिष्टम (व्यक्तिगत निगरानी गर्ने वा सुराकीको प्रयोग)मा आधारित थियो र छ । हाल प्रयोग भएको प्रविधिको प्रयोगको अत्यधिक भएको अवस्थामा म्यानुअल सिष्टम त्यति प्रभावकारी नहुन सक्छ । पछिल्लो हाम्रो देशको राजनीतिक अवस्थालाई विश्लेषण गर्ने हो भने देशमा भएको अघोषित नाकाबन्दी भएको केही दिनमै आम जनतालाई निकै नै नराम्रोसँग प्रभावित गर्यो ।
यदि हाम्रो निकाय वा सम्बन्धित निकायको इन्टेलिजेन्स अलि बलियो हुँदो हो त, आमजनतामा तुलनात्मक रूपमा कम पीडा हुन्थ्यो होला ।

अझ प्रहरीको कारबाहीको विश्लेषण गर्ने हो भने प्रोएक्टिभ पोलिसिङ (घटना घट्नुभन्दा अगाडि गरिने गतिविधि)भन्दा रिएक्टिभ पोलिसिङ (घट्ना घटेपछि गरिने गतिविधि) मा बढी केन्द्रित देखिन्छ । यसमा पनि ध्यान दिनु उत्तम हुन्छ । हुनलाई त नेपाल प्रहरीमा भर्खरै फरेन्सिक ल्याबको स्थापना भएको छ । डिजिटल फरेन्सिक आफैमा बृहत् र व्यापक छ र यो समय अन्तरालसँगै यससँग प्रविधि पनि परिवर्तन हुँदै जान्छ । अतः यसबारे स्पष्ट मार्गचित्र बनाएर अघि बढ्न सके यसको संस्थागत विकास हुनेछ ।

वास्तवमा भन्नुपर्दा अघोषित रूपमा प्रमाणीकरणको कार्यालयले डिजिटल फरेन्सिक प्रयोगशाला (Digital Forensic Lab)को कार्य सुरूवात गरेको थियो र यसले आफ्नो स्पष्ट मार्गचित्र नबनाएको हुँदा यो ओझेलमा परेको यससँग सरोकार राख्ने सबैले महसुस गरेको हुनुुपर्छ । अतः सार्वजनिक हितका लागि प्रयोग गरिने प्रविधिलाई व्यवस्थित गर्न डिजिटल फरेन्सिकलाई उचित ढंगबाट अपनाउन सके यसले गुणात्मक परिणाम दिनेमा सन्देह गर्नुपर्दैन ।

लेखक डिजिटल फरेन्सिक क्षेत्रका जानकार हुन् ।

Check Also

ओप्पोले डुअल सेल्फी क्यामेरा स्मार्टफोन ‘ओप्पो एफथ्री’ सार्वजनिक गर्ने तयारी

स्मार्टफोन फोटोग्राफीका लागि अग्रणी ओप्पोले डुअल सेल्फी क्यामेरा स्मार्टफोन ओप्पो एफथ्री सार्वजनिक गर्ने तयारी गरेको …

‘नेपाल १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४’ मा अवलाेकनकर्ताकाे उल्लेख्य उपस्थिति

  राजधानीमा बिहीबारदेखि जारी ‘नेपाल १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४’ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *