Home / Featured / आविष्कारको दौडमा राम–लक्ष्मण

आविष्कारको दौडमा राम–लक्ष्मण

मिडियामा पटकपटक अदभूत क्षमता भएका जुम्लयाहा वैज्ञानिक राम–लक्ष्मणका समाचार धेरै पढेका थियौं । मनमा धेरै कौतुहलता थियो, यतिका आविष्कार नेपालीले अनि नेपालमै बसेर कसरी गर्न सके होलान् ! अन्तर्वार्ताका लागि थुप्रै जिज्ञासाका साथ उनीहरुकै अफिस लाजिम्पाटमा पुग्यौं । जब गेटमा पुग्यौं, रामले रिमोट तेस्र्याए, गेट आफै खुल्यो । अनि पाइन्टबाट पर्स निकालेर छुस्स ढोकामा छोएका मात्र के थिए, ढोका खुल्यो, कोठाको बत्ती पनि आफै बल्यो ।

रिसेप्सन रुमकै भित्तामा भूकम्प सूचक यन्त्र पनि रहेको छ । जब रामले आफ्नो (डाइरेक्टर)को रुम लगे, त्यो डाइरेक्टरको नभई टेक्निसियनहरुको रुम जस्तो देखिन्थ्यो । अझ डाइरेक्टरले प्रयोग गर्ने टेबलभर सामान र तारहरु छिरल्लिएका थिए । कफीकोे चुस्कीसँगै हामी गफिन थाल्यौं । सुरुमै रामले भने, ‘तपाईंले गेटमा आएपछि जेजति अटोमेटिक सिष्टमहरु देख्नुभयो, ती हामीले नै बनाएका थियौं ।’ उनको बोलीमा गर्वसँगै केही निराशा महसुस गर्न सकिन्थ्यो । अनि थपे, ‘नेपालैभरि यस्ता प्रविधि विस्तार गर्ने ध्याउन्नमा छौं । तर, राज्यले बेलाबेला बाटो छेक्न खोज्छ ।’

नुवाकोट मदनपोखरी गाविसमा २०३७ सालमा जन्मिएका हुन् राम–लक्ष्मण । राम जन्मिएको आधा घन्टापछि लक्ष्मण जन्मिए । काठमाडौंबाट नजिकैको जिल्ला भए पनि उनीहरुको बाल्यकाल पूर्ण गाउँले शैलीमै बित्यो । जुम्लयाहा दाजुभाइको बाल्यकाल निकै रोचक छ । गाउँकै विद्यालयबाट एसएलसी सके । एसएलसी सक्दासम्म उनीहरुले जोडी किताब कहिल्यै पढ्न पाएनन् । एउटाले पढ्थे, अर्काले सुन्थे । २०४२ सालमै नुवाकोटमा बिजुली आएकाले उनीहरुले खासै अँध्यारो देख्नु भने परेन । कक्षा ८ मा पढ्दा नै उनीहरुले उत्तोलकको सिद्धान्त प्रयोग गरेर घरमा बिजुली अफ र अन गर्ने अटोमेटिक सिष्टम बनाइदिए । कक्षा ९ मा टाइपराइटर बनाए ।

विज्ञान र गणितका फर्मुला उनीहरुले घोक्थेनन् बरु बनाउँथे अनि त्यसको प्राक्टिकल गर्थे । एसएलसीमा दोस्रो डिभिजन आयो दुवैको । अनि विज्ञानमै दुवैको कम अंक आयो । त्यसपछि आइकम पढे । मन त थियो साइन्स नै पढ्ने । तर, धेरै पैसा लाग्ने भएकाले मन मोडे । एसएलसीपछि उनीहरु केही वर्ष काठमाडौंमा सित्तैमा बसे । ’टंगालमा साहित्यकार बद्रीनाथ भट्टराईको घर थियो । बिहानबेलुका घरको काममा सहयोग गर्ने सर्तमा बस्यौं’, रामले भने, ’तर घरमा धेरै नै पाहुना आइराख्ने । सधैं ढोका खोल्ने काम हाम्रो हुन्थ्यो । अनि हामीले पाहुनाले बाहिरबाट घन्टी बजाउने र भित्रबाट स्विचले ढोका खोल्ने सिष्टम बनाइदियौं ।’

आइकम ठमेलको सरस्वती बहुमुखी क्याम्पस र बिबिएस मिनभवनको नेपाल कमर्स क्याम्पसमा पढेका उनीहरुले विभिन्न विश्वविद्यालयमार्फत् इलेक्ट्रोनिक्स, मेकानिकल, कम्प्युटर हार्डवेयर एवं सफ्टवेयरलगायतमा अनलाइन कोर्श गरेका छन् ।

हाल यी दाजुभाइको पूरै समय प्रविधिको विकास र आविष्कारमै बितिरहेको छ । अनि उनीहरुलाई सघाइरहेका छन् भाइहरु भरत र बैकुण्ठले । लाजिम्पाटस्थित आफ्नै निवासको भुइँतलामा टेक्नोलोजी सेल्स प्रालि नामक कार्यालय सञ्चालन गरी यस्तै वैज्ञानिक उपकरण निर्माणमा होमिएका यी दाजुभाइको कथा आम युवाका लागि रोचक र प्रेरणादायी बन्न सक्छ ।

सुरुको आविष्कार स्वचालित मोटर अपरेटर
अब उनीहरुको आविष्कारको कुरा गरौं । सन् २००५ तिरको हो । हुन त यसअघि पनि स्कुल पढ्ने बेलै थुप्रै अटोमेसनका काम उनीहरुले गरिसकेका थिए । ‘तर, व्यवसायिक जीवनलाई मोड्ने गरी आफ्नै आविष्कारचाहिँ ’स्वचालित मोटर अपरेटर’ हो, जसले हामीलाई यो ठूलोे सपनाको शहरमा छुट्टै परिचय दियो,’ लक्ष्मणले भने । जतिबेला उनीहरू आर्थिक हिसाबले सबल थिएनन्, केही गर्ने जोश आँखामा टल्किएको सपना मात्रै थियो, त्यहीबेला यो मेसिनको निर्माण गरेका थिए उनीहरूले । यो मेसिनको जन्मकथा बेग्लै खालको छ ।

साहित्यकार अधिकारीको घरको बस्दा घरबेटी भट्टराइले ’ट्यांकीमा पानी भर्ने र पानी भरिएपछि बन्द गराउने’ जिम्मा यी दाजुभाइलाई दिएका थिए । उनीहरू पटकपटक एउटै काम गर्दा दिक्क मान्थे । ‘सधैं मोटर अन र अफ गर्न तलमाथि गरिरहनुपर्ने झन्झटबाट मुक्ति चाहन्थ्यौं । त्यही चाहनाको कारण जन्मिएमको हो स्वचालित मोटर अपरेटर’ लक्ष्मणले सुनाए । त्यसपछि उनीहरू राति मस्त निदाउन सक्ने भए र उता ट्यांकीमा पानी आफै भरिन थाल्यो भने बिजुलीको खपत पनि कम भयो । लक्ष्मण भन्छन् ‘यसको प्रयोगले जुनसुकै बेला धारामा पानी आए पनि अपरेटरले पानी तान्ने मोटर अन गरिदिन्छ र पानी बन्द भए वा ट्यांकी भरिएमा अफ गरिदिन्छ ।’

समाजका लागि उपयोगी प्रविधिको विकास
उनीहरुको ध्याउन्न नै समाजले के समस्या भोगिरहेको छ र त्यसको समाधान कसरी गर्ने भन्नेमा छ । थुप्रै नविन आविष्कार गरेका उनीहरुबाट मानिसहरुले पनि ठूलै अपेक्षा राख्छन् ‘हामीले थुप्रै काम गर्नुछ । आजसम्म जे ग¥यौं, त्यसबाट प्राक्टिकल हुनुपर्छ भन्ने सिकेका छौं,’ राम भन्छन् । यसैको परिणाम हो, उनका विभिन्न प्रडक्टको उपभोग गर्नेहरुको संख्या करिब ४ लाख पुगेको छ । यसअन्तर्गत उनीहरुले विकास गरेको टेलिफोनको तार चोरी नियन्त्रण गर्ने प्रविधि र स्वचालित साइरन घन्टी उपत्यकामा तार चोरी गर्ने क्रम ह्वात्तै घट्यो ।’

त्यस्तै अर्को आविष्कार हो, हतियार भण्डारणका लागि सुरक्षागार्ड । हतियार भण्डार गरेको कोठा, ढोकामा जडान गर्न सकिने यो प्रविधिका कारण कसैले हतियार चलाएको कुरा साइरनबाट सजिलै थाहा पाउन सकिन्छ । उनीहरूले हतियार भण्डारका लागि आफ्नै सोचले तयार पारेको यो प्रविधिले भण्डारण गरिएको हतियार चलाएको खण्डमा एकैपटक दुई दर्जनभन्दा बढी फोनमार्फत स्वचालित रूपमा फोन गर्ने र समाचार पठाउने गर्छ । उनीहरु खस्कँदो सुरक्षा प्रणालीलाई प्रविधिमार्फत सुधार गर्न जिसिएम प्रविधिमा आधारित ट्र्याकिङ प्रणालीको निर्माण गरेर चर्चामा आए ।

वायरलेस कम्युनिटी साइरन निर्माण गरी चर्चामा आएका उनीहरूले डिजिटल प्रविधिमार्फत सवारीसाधन र व्यक्तिबारे सहजै जानकारी पाउन सकिनेगरी जिपिएस (ग्लोबल पोजिसन सिष्टम) निर्माण गरे । ‘यसको प्रयोग गरी कम्प्युटरमार्फत प्रविधि जडान गरिएको सवारीसाधन र व्यक्ति कहाँ छन् सजिलै पत्ता लाग्छ,’ रामले भने, ’व्यक्ति र सवारीसाधन रहेको स्थान पत्ता लगाउन गुगल र माइक्रोसफ्टसँग सहमति गरेका छौं ।’ महानगरीय प्रहरी अवधारणाअनुसार परिचालित सिआरभी भ्यानको अवस्था, प्रहरी कर्मचारीहरू कहाँ छन् ? भन्ने जानकारी लिन जिपिएस प्रविधिको उपकरण सहयोगी हुने राम बताउँछन् ।

रामलक्ष्मणले लामो समयको मिहिनेतमा निर्माण गरेको ’मकै छर्ने मेसिन’ पनि निकै चर्चित बन्यो । यो उपकरणले रोनाष्टबाट ’एमेच्योर साइन्स अवार्ड’ पनि प्राप्त ग¥यो । तर, यो प्रविधि ग्रामीण किसानको क्षमताबाहिर भयो र विक्रीवितरण हुन सकेन ।

यसमा सरकारले सहयोग गरोस् भन्ने उनीहरूको चाहना छ र मकै छर्ने मेसिनलाई गाउँगाउँ पु¥याउन, प्रयोगमा ल्याउन सकियो भने कृषिक्षेत्रले ठूलो फड्को मार्छ भन्ने लाग्छ उनीहरूलाई । उनीहरूले उपत्यकाको बाइक चोरी नियन्त्रणका लागि ’बाइकगार्ड’ नामक यन्त्रको निर्माण गरेका छन् ।

यो प्रविधिलाई बाइकमा जोडेपछि जुनै ठाउँमा बाइक रोके पनि चोरले चोर्न सक्दैन । बाइकलाई केही मिटर हिँडाउँदा स्वचालित साइरन बज्न थाल्छ र स्टार्ट गरेपछि आफै बन्द हुन्छ । यसका अतिरिक्त ट्रक ट्रयाकिङ सिष्टम, वायरलेस नर्स कलिङ सिष्टम, लोड लिमिटर डिभाइस, नेपाल टेलिकम वायरकट अलार्म सिष्टम, स्ट्रोम वार्निङ सिष्टम, बाढीको चेतावनी दिने अलार्म, भूकम्पसूचक अलार्म पनि उनीहरुले सार्वजनिक गरेका छन् ।

भोटिङ मेसिनको चर्चा
उनीहरुले बनाएको इलेक्ट्रोनिक भोटिङ मेसिनको चर्चा यतिबेला अरुभन्दा धेरै छ । सन् २०११ मै विकास गरिएको यो भोटिङ मेसिन अन्तर्राष्ट्रिय मापदण्डको बनाएको दाबी राम–लक्ष्मणको छ । ‘पूर्वआयुक्तहरु निलकण्ठ उप्रेती, भोजराज पोखरेललगायतले समेत निर्वाचन आयोगले अब तपाईंहरुकै मेसिन प्रयोग गर्छौं भनेर पटकपटक आश्वासन दिए । समय घर्किदैं गएपछि यो पटक सकिएन अर्को चुनावमा प्रयोग गरौंला भन्दै टारे,’ उनले भने ।

पछिल्लो संविधानसभाको उपचुनावमा समेत रामलक्ष्मणको भोटिङ मेसिन प्रयोग गर्ने हल्लाकै बीच भारतबाट अर्को मेसिन मगाइयो । ‘सरकारले यो भोटिङ मेसिन प्रयोग गरिदियो भने विदेशमा पनि लगेर पैसा कमाउँछन् भन्ने मानसिकता यिनीहरुको भइदियो ।

अनि नेपालमा अन्तर्राष्ट्रियस्तरको भोटिङ मेसिन नै बनेको छैन भनेर कुप्रचार गरिरहेका छन्,’ उनले भने । लक्ष्मण भन्छन्, ‘हामीलाई संख्या र समयसिमा दिइयोस्, नेपालीलाई सुहाउँदो सोहीस्तरको मेसिन प्रयोग गरी राष्ट्रियस्तरको चुनाव पनि गर्न सक्छौं ।’

तर, आगामी वैशाख ३१ मा हुने स्थानीय निकायको चुनावका लागि सरकारले भोटिङ मेसिन प्रयोग नगर्ने तर आफ्नो मेसिन के भइदियो भने र सरकारका कुनै पनि चुनावमा उनीहरुको मेसिन प्रयोग नभए पनि देशमा हुने थुप्रै चुनावहरुमा उनीहरुको इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोगमा आएको छ ।

मानिसको मन छुने आविष्कार
उनीहरूले निर्माण गरेको साइरन बजाउने यन्त्र, मकै छर्ने मेसिन, बाढी, सुनामी सूचक यन्त्र, बाइकगार्ड, मोटर अपरेटर जस्ता प्रविधिले मानिसहरूको मन छोएको छ । ’हामी ठूला वैज्ञानिक बन्ने सुरले यो काममा लागेका होइनौं । मात्र मानिसको जीवनशैलीलाई केही हदसम्म सहज बनाउन प्रविधिको सहारा लिएका हौं,’ लक्ष्मण भन्छन् । आज उनीहरुले विकास गरेका दुई दर्जनभन्दा बढी प्रविधि बजारमा उपलब्ध छन् । यसबाट उनीहरुलाई देश र विदेशमा थुप्रै अवार्ड र सम्मान पनि मिलेको छ ।

आफूहरूले विकास गरेका प्रविधिहरु मानिसहरुले प्रयोग गरेको देख्दा साह्रै खुसी लाग्छ उनीहरूलाई । यो ’जुम्ल्याहा कथा’ सुनाउँदा बेलाबेला उनीहरू भावुक पनि बने । एउटै प्रविधि आविष्कारका लागि वर्षौंसम्म खटेका दिनहरू आँखामा नाँचे । कयौं हण्डर ठक्करको सामना गरे । तर हार मानेनन् । अझैं कयौं माइलको यात्रामा सरिक यो जुम्ल्याहा जोडी विज्ञार र यसको परिवर्तनअनुसारका प्रविधिको निर्माणमा जुटिनै रहेको छ ।

एउटा प्रडक्ट फेल भए अर्कोले रिभेन्यु जेनेरेट गरिरहेको छ । ‘हाम्रो करोडौं रुपियाँ अझै लोन छ, तर त्यसको पे गर्ने सोर्स पनि छ,’ रामले भने । कुनै काममा निरन्तरता हुन सके एक दिन अवश्य सफलता पाइन्छ भन्ने सोच राखेका उनीहरु नेपाली समाजमा बिकाउ हुन सक्ने प्रडक्ट ल्याउनुपर्ने बताउँछन् ।

Check Also

मोबाइल रिचार्ज गर्दा १०० प्रतिशत क्यासब्याक दिने ‘रीचार्जर’ एप नेपालमा

ग्लोबल कि टेक्नोलोजी प्रालिले बजारमा ल्याएको रीचार्जर (Reecharger) नामक मोबाइल एप मार्फत मोबाइल रिचार्ज गर्दा …

स्मार्ट टेलिकमले पनि पायो फोरजी सञ्चालनको अनुमति, साउन १५ देखि सेवा दिने

नेपाल दूर सञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई चौथो पुस्ताको फोरजी इन्टरनेट सेवा सञ्चालन अनुमति दिएको छ। …

Leave a Reply

Your email address will not be published. Required fields are marked *