Home / आइसिटी समाचार / मोबाइल सेवा विस्तारमा तीव्रता

मोबाइल सेवा विस्तारमा तीव्रता

पछिल्ला केही वर्ष नेपालमा मोबाइल सेवा तीव्र गतिमा विस्तार भइरहेको छ । सेवाप्रदायक कम्पनीबीचको कडा प्रतिस्पर्धा तथा विभिन्न समयमा कम्पनीले ल्याउने अफरका कारण मोबाइल प्रयोगकर्ता बढेका हुन् । नेपाल टेलिकमलगायत अन्य कम्पनी मोबाइल सेवा विस्तारमा केन्द्रित छन् । कम्पनीले ल्याउने अधिकांश अफर तथा स्किम मोबाइल सेवामा आधारित छन् । सेवाप्रदायकबीच बढेको तीव्र प्रतिस्पर्धाकै कारण दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले देशका सबै मोबाइल कम्पनीका टेलिफोन देशका सबै ठाउँमा चलाउन मिल्नेगरी ‘इन्टर अपरेटर रोमिङ’ समेतको तयारी गरेको छ । यसका लागि सेवाप्रदायकसँग छलफल भइरहेको प्राधिकरणले जनाएको छ ।

यो प्रणाली लागू भएमा एउटा ठाउँ वा कम्पनीको मोबाइल अर्को ठाउँ वा अर्कै कम्पनीको क्षेत्रभित्र पुग्दा निर्वाध चल्छ । अहिले एउटा सेवाप्रदायक कम्पनीका ग्राहक आफ्नो ठाउँभन्दा बाहिर जाँदा त्यहाँ त्यो कम्पनीको सेवा पुगेको रहेछ भने मात्र आफ्नै मोबाइलबाट कुराकानी गर्न सक्छन् । यो नीतिलाई प्राधिकरणले लागू गरेमा सबै कम्पनीका टेलिफोन देशका सबै ठाउँमा चल्नेछन् । हाल नेपाल टेलिकम र युटिएलले सिडिएमए प्रविधिबाट मोबाइल सेवा प्रदान गरिरहेका छन् । ग्रामीण भेगमा सेवा चलाइरहेका अन्य कम्पनी एसटिएम, स्मार्ट र नेपाल स्याटेलाइटले पनि जिएसएम प्रविधिबाट टेलिफोन चलाउन सुरु गरिसकेका छन् ।
प्राधिकरणका अनुसार नेपाल टेलिकमले सबैभन्दा धेरै स्थानमा सेवा विस्तार गरेको छ । टेलिकमले ७५ वटै जिल्लामा सेवा विस्तार गरिसकेको छ । युटिएलले ४० जिल्लामा विस्तार गरेको छ । कम्पनीले मोबाइलको प्रयोगमा थपेका सुविधा र मोबाइल सेटको शुल्कमा आएको गिरावटले पनि उपभोक्ता बढेका हुन् । पछिल्लो समयमा मोबाइल सेवाको विस्तार उत्साहजनक रहेको दूरसञ्चार प्राधिकरणले बताएको छ । मोबाइलको पहुँच उल्लेख्य बढेकाले टेलिघनत्वसमेत बढेको छ । कुल टेलिफोन प्रयोगकर्तामध्ये हाल ५६.५५ प्रतिशत मोबाइल प्रयोगकर्ता छन् । प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार मुलुकभर मोबाइल प्रयोगकर्ताको संख्या एक करोड ४० लाख ५६ हजार पुगेको छ । यसमध्ये पनि सबैभन्दा धेरै जिएसएम मोबाइलका छन् । नेपालमा ११ वर्षअघि जिएसएम प्रविधिको मोबाइल भित्रिएको हो ।
प्रतिस्पर्धा बढसँगै शुल्क पनि घटेको छ । केही वर्षअघिसम्म मोबाइलमा उठाएको पैसा पनि तिर्नुपर्ने अवस्था थियो । तर, अहिले प्रतिस्पर्धाका कारण शुल्कमा उच्च गिरावट आएको छ । ०५६ मा मोबाइल सेवा सञ्चालन सुरु गरेको टेलिकमले पहिलो पाँच वर्षसम्म मोबाइल सेवा विस्तारमा त्यति ध्यान नदिए पनि अहिले मोबाइलमै जोड दिएको छ । हालैमात्र कम्पनीले एक करोड लाइन जिएसएम लाइन थप्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार अहिले यसले मासिक एक लाख हाराहारीमा मोबाइल सिमकार्ड बाँडिरहेको छ । पाँच वर्षअघि नेपाल टेलिकमले मात्र प्रदान गर्ने मोबाइल सेवाका ग्राहक दुई लाख ९९ हजार एक सय ४० थिए । अहिले टेलिकमका मोबाइल ग्राहक ६१ लाख २२ हजार छन् भने एनसेलका ८१ लाख छन् । -सौर्य समाचार

Check Also

शाओमीको ए वान र नोट ५ ए बजारमा

शाओमीको आधिकारिक बितरक भाष्टल इम्पेक्सले हरेक महिना नयाँ मोडलहरु बजारमा ल्याइरहेको छ । असोज पहिलो …

टेलिकमले ल्यायो तिहार र छठका लागि आकर्षक अफर

नेपाल टेलिकमले नेपालीहरुको महान चाड पर्वहरुको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *