Home / CAN Infotech 2016 / राजधानीलाई प्रविधिमय बनाउँदै सुरु भयो सुबिसु क्यान इन्फोटेक २०१६

राजधानीलाई प्रविधिमय बनाउँदै सुरु भयो सुबिसु क्यान इन्फोटेक २०१६

सूचना तथा सञ्चार प्रविधिको कुम्भमेला सुबिसु क्यान इन्फोटेक २०१६ इन एशोसिएशन विथ हुवावे राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । ई–नेपाल निर्माणलाई मध्यनजर गर्दै कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ)ले आयोजना गरेको इन्फोटेकको यो २२औं संस्करणको प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गरे ।welcome can infotec

समुद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा सूचना प्रविधिको विकास र विस्तारमा क्यान महासंघको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढ्न सुझाव दिए । सरकारले आधुनिक विज्ञान प्रविधिलाई प्राथमिकतामा राखेको बताउँदै प्रधानमन्त्री ओलीले नेपाललाई अगाडि बढाउन विज्ञान प्रविधिलाई महत्वका साथ अगाडि बढाउन सरकार संकल्पित रहेको दृढतासमेत व्यक्त गरे । ‘राज्यका संयन्त्र ई–गभर्नेन्स वा डिजिटल प्रविधितर्फ नगई धरै छैन । देशले छलाङ मार्ने भनेकै प्रविधिको अधिकतम प्रयोग गरेर हों,’ उनले भने । नेपाललाई सूचना प्रविधिको युगमा लैजानुपर्ने आवश्यकता रहेको बताउँदै उनले यसका लागि आइसिटी क्षेत्रको सहयोग रहेको बताए ।

कार्यक्रममा कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ)का अध्यक्ष विनोद ढकालले सूचना तथा सञ्चार प्रविधि ग्रामीण भेगसम्म नपुर्‍याउँदासम्म ई–नेपालको परिकल्पना साकार नहुने धारणा राखे । प्रविधिको प्रयोगविना कुनै काम गर्न सम्भव नहुने भएकाले यसतर्फ सरकार र सम्बन्धित क्षेत्रले सूचना तथा सञ्चार प्रविधिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा उनले जोड दिए । ‘यदि नेपाल सरकारको सोच र काम गर्ने शैलीमा परिवर्तन ल्याउने हो भने आजको ५ वर्षमा हामी ई–नेपाल बनाउन सक्छौं,’ उनले भने । कार्यक्रममा शीर्ष प्रायोजन गरेको सुबिसु केबलनेट प्रालिका अध्यक्ष सुधीर शर्माले सुबिसुले ल्याएका नयाँ सेवा र प्रविधिको बारेमा जानकारी दिए ।

कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राई, विज्ञान तथा प्रविधिमन्त्री शिवलाल थापा, जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवान, उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, चेम्बर अफ कमर्शका उपाध्यक्ष राजेन्द्र मल्ल, सूचना तथा प्रविधि विभागका महानिर्देशक वीरेन्द्रकुमार मिश्र, क्यान महासंघका संस्थापक अध्यक्ष विमलकुमार शर्मालगायतको उपस्थिति थियो ।

प्रदर्शनीमा विशेषगरी इन्टरनेट सेवाप्रदायक कम्पनीबाट विशेष छुटसहितको प्याकेज तथा उच्च गतिको इन्टरनेट सेवा, टेलिफोन तथा मोबाइल फोन कम्पनीहरूको आकर्षक अफर रहेको छ । त्यस्तै बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामग्री पनि विशेष सहुलियत र स्किमका साथ उपलब्ध छन् । मेलामा नयाँ प्रविधिमा आधारित मोबाइल फोन, ट्याब्लेट, सफ्टवेयरहरूमा नयाँ संस्करणसहितको अपडेट मोडल उपलब्ध हुनुका साथै नयाँ कम्पनी तथा उत्पादनसमेत भित्रिएका छन् । साथै प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिष्ट्रिब्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेशन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्ष्टिच्युट्स, सफ्टवेयर सोलुशन्स, पेमेन्ट सोलुशन्स र अन्य रहेका छन् । इन्फोटेकमा १ सय ८८ स्टल रहेका छन् भने १ सय १२ ओटा कम्पनी सहभागी छन् ।

पहिलो दिन ३९ हजारले गरे अवलोकन
क्यान सचिवालयले दिएको जानकारी अनुसार इन्फोटेकको पहिलो दिन ३९ हजार एक सय ७७ जनाले अवलोकन गरेका छन् । ६ दिनसम्म सञ्चालन हुने इन्फोटेकमा ४ लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान आयोजकको छ । इन्फोटेकको दोस्रो दिन शनिबार उल्लेख्य संख्यामा अवालकोकनकर्ता आउने महासंघका महासचिव विश्वराम बलामीले बताए ।

Check Also

आइटी उद्योगका कामदारलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवालको जोड

नेपालको आइटी उद्योगमा कार्यरत कामदारहरुलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित …

वर्डप्रेसको नयाँ संस्करण ४.९ सार्बजनिक, नेपाली भाषामा पनि सजिलै चलाउन मिल्ने

शाण्डिल्य काफ्ले विश्व बजारमा अहिले कै सबै भन्दा चर्चित र धेरै प्रयोग हुदै आइरहेको खुल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *