Home / Featured / आइटी उद्योगमा एक ‘सक्सेस स्टाेरी’ : पार्टनरसिपले जमेको ‘एफवान सफ्ट’

आइटी उद्योगमा एक ‘सक्सेस स्टाेरी’ : पार्टनरसिपले जमेको ‘एफवान सफ्ट’

आज हामी युवा नेतृत्वमा नेपालको सूचना प्रविधि क्षेत्रको चर्चित र उदाहरणीय कम्पनी बनेको एफवान सफ्टको चर्चा गर्दै छौं । सन् २००४ मा स्थापित यस कम्पनीले मोबाइल बैंकिङ सिष्टम, ट्याब बैंकिङ सिष्टम, कार्ड बैंकिङ सिष्टम, डिजिटल वालेट, अनलाइन पेमेन्ट गेटवे, ई–कमर्स आदि प्रडक्टहरु निर्माण गर्दै आएको छ । पछिल्लो समय नम्बर एक फिनटेक कम्पनीका रुपमा एफवानले देशका ९० प्रतिशत बैंक र वित्तीय संस्थाहरुलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।

एफवान सफ्टका सुरुवातकर्ता एवम् सम्पूर्ण टिमको लगनशीलता, मेहनत र इमानदारीकै कारण आज कम्पनीको उचाइ र गरिमा बढिरहेको छ । लिभिङ विथ आइसिटीको यस अंकमा हामीले एफवान सफ्टका सुरुवातकर्ता एवं संस्थापक सदस्यहरुको कथा लेख्दै छौं, उनीहरुको सफल सहकार्यका कारण कम्पनीले आत्मसात् गरेका उपलब्धिको चर्चा गर्दै छौं अनि सफल कम्पनी बन्न टिमवर्क कसरी निर्णायक बन्न सक्छ भन्ने विषय खोतल्दै छौं

कथाका पात्र हुन्, विश्वास ढकाल, अस्गर अली र सुवास शर्मा । स्थापनाकालदेखि नै अहोरात्र सहकार्य गरिरहेका उनीहरुले आफूसँग भएका स्रोत र क्षमता लगानी गरेका छन् । साथमा यो होस्टेमा हैंसे दिई कम्पनीलाई यहाँसम्म ल्याउन उनीहरुसहित १०जनाको ‘कोर टिम’ सुरुवातदेखि नै लागिपरेको छ ।

पोखरा स्थायी घर भएका सुवासले विद्यालय तह माउन्ट अन्नपूर्ण र प्लस टु गण्डकी बोर्डिङ स्कुलमा अध्ययन गरे । उनले पुल्चोक इन्जिनियरिङ संस्थानबाट २००४ मा बिई कम्प्युटर सके । केइसी पढ्दाका साथी थिए, विश्वास ढकाल । बिई सकेपछि उनले २ वर्ष पोखराको पश्चिमाञ्चल क्षेत्रीय क्याम्पस र गण्डकी कलेज अफ इन्जिनियरिङमा अध्यापनसमेत गरे । त्यसपछि पुनः काठमाडौं सिफ्ट भएर विश्वास र अस्गर अलीसँगै एफवान सफ्टमा आबद्ध भए ।

अर्घाखाँचीको पाली गाविसमा जन्मिएका अस्गर बुबा बसाइँ सरेर दाङ आएपछि ४ कक्षासम्म दाङकै राप्ती बोर्डिङ स्कुलमा पढे । त्यसपछि एसएलएसीसम्म बुटवलको लुम्बिनी बोर्डिङ स्कुलमा पढेका उनले आइएससी अस्कल क्याम्पसबाट र बिई सफ्टवेयर इन्जिनियरिङ एनसिआइटीबाट सके । एनसिआइटीमा पढ्दाका साथी थिए, विश्वास । इन्जिनियरिङको तेस्रो वर्ष पढ्दै गर्दा नै उनको टिमले एफवान सफ्ट सुरु गरिसकेको थियो । उनले एफवानमा लाग्नुअघि केही महिना कलेज पनि पढाए ।

अस्गर अली

जनकपुरमा जन्मेका विश्वासले जनकपुरबाटै एसएलसी र भारतबाट आइएससी सके । त्यसपछि काठमाडौंमा कान्तिपुर इन्जिनियरिङ कलेजमा कम्प्युटर इन्जिनियरिङमा भर्ना भए । सफ्टवेयरप्रतिको झुकावका कारण उनले कम्प्युटर इन्जिनियरिङलाई निरन्रतरता दिन चाहेनन् र दोस्रो वर्ष पढ्दै गर्दा कलेज ड्रपआउट गरी एनसिआइटीमा सफ्टवेयर इन्जिनियरिंङ पढ्न थाले ।

एनसिआइटीमा पहिलो सेमेस्टर सकेलगत्तै विश्वासले आफ्नै कोठालाई एफवान सफ्ट इन्टरनेशनलको कार्यालय बनाए, जसमा एउटा कम्प्युटर थियो र फुर्सदको समयमा वेबसाइट बनाउने, डोमेन विक्री गर्नेुका साथ वेब होस्टिङका कार्यहरु गर्न थाले । सफलता अंकुराएको महसुस हुन थालेपछि उनले ४ जनालाई नियुक्तिपत्र नै दिएर एफवान सफ्टलाई प्रोफेसनल कम्पनी बनाउने अठोट गरे ।

कम्पनीलाई व्यावसायिक बनाउन चाहिरहेका उनको यो बाटोमा बिजनेश पार्टनर वा सहसंस्थापकको रुपमा भित्रिए अस्गर अली र सुवास शर्मा । ‘कम्प्युटर इन्जिनियरिङ पढ्दाका साथी सुवास र सफ्टवेयर इन्जिनियरिङ पढ्दाका साथी अस्गर मिलेर एफवान सफ्टलाई एक पूर्ण व्यावसायिक कम्पनी बनाउने अभियानमा जुट्यौं’, विश्वासले सुरुवाती दिन सम्झिए ।

सुवास शर्मा

सुरुवात  : वेबसाइट निर्माणदेखि भ्यालु एडेड सर्भिससम्म

त्यतिबेला आइटी पढाउने कलेज र इन्स्टिच्युट दर्जनौं थिए । तर, आइटी सर्भिसको खपत खासै थिएन । केही आउटसोर्सिङ कम्पनी थिए, उनीहरुको उद्देश्य नेपाली बजारका लागि थिएन । ‘अहिले मोबाइल एपको ट्रेन्ड चलेजस्तै त्यतिबेला भर्खरै वेबसाइट बनाउने ट्रेन्ड चलेको थियो । यसकारण एफवान सफ्टले सुरुका दिनमा वेबसाइट निर्माणबाटै कम्पनी विस्तार ग¥यो,’ कम्पनीका सुरुवाती कथा सम्झँदै अस्गर भन्छन्, ‘त्यसमा पनि अस्वस्थ प्रतिस्पर्धा थियो । निकै थोरै मूल्यमा वेबसाइट बनाउने कम्पनी आउन थाले । यस्तो अवस्थामा हामीले बिजनेश डाइभर्ट गर्न थाल्यौं ।’

२००७ मा एफवानले टेन्डरिङ प्रतिस्पर्धामार्फत नेपाल टेलिकमको भ्यालु एडेड सर्भिसअन्तर्गत करिब २ दर्जन एफएम रेडियोका कार्यक्रममा लाइभ एसएमएस पठाउने काम पायो । तर, दिनमा दुई–अढाई सय मात्रै एसएमएस आएपछि कम्पनी नाफामा जान सकेन ।

यसपछि यो टिमले आफ्नो टेक्निकल स्किल बैंकिङ सेक्टरलाई लक्षित गर्यो । त्यतिबेला नेपालका बैंकहरुले भर्खरै कोर बैंकिङ सेवा सुरु गरेका थिए । यही क्रममा एफवानले लक्ष्मी बैंकका लागि एसएसएमएस बैंकिङको प्रडक्ट तयार पार्यो । एक वर्षसम्म थप ८ बैंकले एसएमएस बैंकिङ सेवा सञ्चालन गरे ।

कम्पनीलाई अब भने प्रडक्ट लाइनमा लैजानुपर्ने सोचअनुरुप यी तीनले एसएमएस बैंकिङ (एसएमएस इन्क्वायरी) मात्रै नदिएर ग्लोबल बैंकिङ सेवाको पनि सुरुवात गरी पोस्पेड, ल्यान्डलाइन र मोबाइलको बिल तिर्नका लागि मोबाइल बैंकिङ सेवा विस्तार गरे । योसँगै उनीहरुले इन्टरनेट बैंकिङ सेवा पनि ल्याए । कम्पनीको यसपछिको फोकस बैंकिङ सेक्टरलक्षित हुन थाल्यो । यही नेटवर्क बनाउने क्रममा नै ई–सेवा जन्मिएको हो भने एफवानले ९० प्रतिशत बैंकका लागि ट्रान्जेक्सन बैंकिङ सुविधा दिन सक्ने अवस्था आयो ।

विश्वास ढकाल

‘एफवान सफ्ट सुरु हुँदाको समय म्यानुअलबाट डिजिटल हुने चरण थियो । जुन बेला ट्रान्जेक्सन बैंकिङको प्रडक्ट बनायौं, त्यही बेला नै एफवान सफ्टले राम्रो प्रडक्ट बनाउन सक्छ भन्ने कुरा प्रमाणित भइसकेको थियो,’ सुवास भन्छन्, ‘आजका दिनमा हामी बैंकिङ सिष्टमभन्दा बाहिर नगई किन काम गर्दैनौं भन्ने प्रश्नको उत्तर नै हामीले यो सेक्टरमा बटुलेको एक्सपर्टिजले गर्दा हो ।’

फरक स्वभाव, साझा उद्देश्य

एफवान सफ्टलाई व्यावसायिक सफलता दिलाउन सुरुवाती चरणमा यी तीनजनाकै फरकफरक स्वभावले भूमिका खेल्यो । ‘विश्वास दाइको बिजनेश सेन्स निकै राम्रो । सुवास दाइको टिमलाई राम्रोसँग व्यवस्थापन गर्ने र बिजनेश कन्सेप्टलाई एक्सनमा ल्याउन सक्ने क्षमता । अनि म कम्पनीको टेक्निकल म्यानेजमेन्ट गर्ने । यी तीन क्षमताका कारण नै हामी अगाडि बढ्न सक्यौं,’ अस्गरले सुनाए ।

एसएमएस बैंकिङ प्रडक्टबाट सुरु गरिएको कम्पनी मोबाइल बैंकिङ र ट्रान्जेक्सन बैंकिङमा आफूलाई अब्बल बनाउन सफल भएको छ । यसका पछाडि उनीहरुको फरक स्वभावका अतिरिक्त कम्पनीमा सबैको साझा उद्देश्य रहनु पनि महङ्खवपूर्ण कारण हो । ‘एकै कम्पनीका पार्टनरहरुले संस्थालाई लिएर आआफ्ना उद्देश्य र योजना बनाउँछन् भने पार्टनरसिपमा स्थिरता नआउन सक्छ । एफवान सफ्टको हकमा भने हामी हाम्रा योजना र उद्देश्यमा सधैं स्पष्ट रहँदै आयौं,’ अस्गरले भने ।

सुरुदेखि नै १० जनाको साथ

वास्तवमा कम्पनी सुरु गर्नु मात्रै ठूलो कुरा होइन । आज एफवान सफ्ट नेपालको सफल आइटी कम्पनीका रुपमा दरिनुमा यसका सुरुवातकर्ता वा लगानी मात्रै पर्याप्त होइनन्, बरु टिम हो । ‘टिम इफोर्टकै कारण एफवानका हरेक प्रडक्ट सफल भइरहेका छन्,’ सुवास भन्छन् । सबै पार्टनरलाई कम्पनीको साझा उद्देश्य अवगत थियो । सानो लगानीबाट सुरु भएको कम्पनीलाई आवश्यकताअनुसार लगानी थप्नुपर्ने अवस्था आयो । यस्तो अवस्थामा क्यास हाल्न नसक्दा घरमा बुबाआमाले जोडेको घरखेत पनि बैंकमा राखेर पनि उनीहरुले कम्पनी चलाए ।

‘तर, यहाँसम्म आउनुमा हामीले सुरुदेखि नै साथ दिइरहेको १० जनाको टिम छ । यसैको परिणाम हो, एफवान सफ्ट नेपालको नम्बर वान आइटी कम्पनी हुनु । यो मल्टीकलेक्टिभ हो । परिणामतः एफवान सफ्ट ग्रुपअन्तर्गत ४ ओटा कम्पनीले काम गरिरहेका छन् । यसअन्तर्गत २ ओटा स्टार्टअपमध्ये शिरान टेक एपमा आधारित छ भने धर्मटेक वेब भिआरभी सिएमएस डेभलपमेन्टमा आधारित छ । ‘विशेष कम्पनीहरु विशिष्ट क्षेत्रमा स्पेसलाइजेसन हुनुपर्दछ भन्ने हाम्रो मान्यताले गर्दा ‘सेगमेन्ट डोमेन’ बेग्ला बेग्लै बनाउनु परेको हो । अब स्पेसलाइज्ड मानिस र कम्पनी खोज्ने अवस्था आइसकेको छ,’ विश्वासले भने ।

एफवान सफ्ट इन्टरनेशनलका सुरुवातकर्ता विश्वास, सुवास र अस्गर एकअर्कालाई दाइ भनेर सम्बोधन गर्छन् । यति मात्र कहाँ हो र भर्खर ज्वाइन भएका कर्मचारीलाई समेत यी संस्थापकहरुले दाइ नै भनेर बोलाउँछन् भने कर्मचारीहरुले पनि दाइ नै भनेर सम्बोधन गर्छन् । ‘अनौपचारिक वा पारिवारिक सम्बन्ध हुनेबित्तिकै त्यहाँ सिनियर र जुनियरको फिलिङ हुँदैन । एकअर्कामा खुलेर काम गर्न सक्छन् ।’

कम्पनी सफल हुनुमा बिजनेश पार्टनरसिपको भूमिका

हरेक संगठनले सफलता आत्मसात् गर्न टिम चाहिन्छ । ‘टिममा रहँदा एकजनाको कमजोरी अर्कोले हाइड गर्न सक्नुपर्छ र बलियो पक्षलाई हाइलाइट गर्नुपर्छ । हाम्रो टिममा पनि हरेकले आआफ्नो बिजनेश सम्हाले पनि एकअर्कालाई निरन्तर सहयोग गरिरहेका हुन्छौं । कलेक्टिभ डिसिजनकै कारण हाम्रा प्रत्येक काम मच्योर्ड बनेका छन्,’ सुवासले भने ।

उनका अनुसार प्रत्येक निर्णयमा ‘कोर टिम’को सामूहिक सहभागिता हुने भएकाले दीर्घकालीन आइडियाहरु आउने गर्छन् । कम्पनी खडा गर्न पार्टनरहरु बने पनि संगठनमा रहेका कोही पनि तलमाथि नरहेको अर्का सहसंस्थापक अस्गर बताउँछन् । भन्छन्, ‘नेपालमा हाम्रो मात्र एउटा अर्गनाइजेशन होला, जहाँ भर्खर काम सुरु गरेको फ्रेसरले हामीलाई सल्लाह दिन सक्छ ।’

कम्पनीभित्रका रोचक कुरा

एफवान सफ्ट इन्टरनेशनलका सुरुवातकर्ता विश्वास, सुवास र अस्गर एकअर्कालाई दाइ भनेर सम्बोधन गर्छन् । यति मात्र कहाँ हो र भर्खर ज्वाइन भएका कर्मचारीलाई समेत यी संस्थापकहरुले दाइ नै भनेर बोलाउँछन् भने कर्मचारीहरुले पनि दाइ नै भनेर सम्बोधन गर्छन् । ‘अनौपचारिक वा पारिवारिक सम्बन्ध हुनेबित्तिकै त्यहाँ सिनियर र जुनियरको फिलिङ हुँदैन । एकअर्कामा खुलेर काम गर्न सक्छन् ।’

त्यस्तै अर्को रोचक कुरा उनीहरु प्रत्येकले एक–एक कम्पनी लिड गरेका कारण कहिले महिनौं दिनसम्म प्रत्यक्ष भेटसम्म हुँदैन । ‘२ वर्षअघिसम्म अफिस टाइमपछि निकै बेर जमघट गथ्र्यौं । कुरै कुरामा धेरै रात पनि कटे । तर, अहिलेको व्यस्तताका कारण एक्स्ट्रा कामका लागि भेट्नै समय नै पाउँदैनौं । तैपनि कहिलेकाहीँ थोरै समय निकालेर गफिने बहाना खोजिरहेका हुन्छौं’, अश्गरले भने ।

सुवास थप्छन्, ‘अस्गर र विश्वास दुवै नहुने हो भने म केही नि होइनँ । यो फिलिङ मेरो मात्र होइन, सबैको नै हो । त्यही भएर नै कोही एक्लै जाने आँट नै गर्दैनौं । अहिलेसम्म जति रिजल्ट आएको छ, त्यो टिमले नै गर्दा भएको हो ।’

एफवान सफ्टमा पार्टनरसिप ‘रिटायर्ड’ नहुन्जेल

सफल बिजनेश पार्टनरसिपका लागि टिप्स के के हुन सक्लान् ? हामीले बजारमा थुप्रै कम्पनी खोल्ने बन्द हुने देखिरहेकै छौं । कम्पनी टिक्न नसक्नुमा मुख्यतः बिजनेश पार्टनरहरुबीच कुरा नमिल्ने नभई कम्पनीको स्पष्ट उद्देश्य नहुनुलाई कारण मान्छन्, अस्गर । ‘कम्पनीको उद्देश्य पहिचान भएपछि मात्रै बिजनेश पार्टनरसिपको कुरा आउनुपर्छ । हामीसँग १०/१० लाख छ, एउटा कम्पनी खोलौं भन्ने सोचाइबाट कम्पनी सफल हुन सक्दैन,’ उनी भन्छन् ।

अस्गरको भनाइलाई साथ दिँदै सुवास पनि आवश्यकताअनुसारको कम्पनी र बिजनेश पार्टनर हुनुपर्ने बताउँछन् । ‘इगो (अहम्)लाई त्याग्नुप¥यो, संगठनको ‘गोल’ सबैका लागि एउटै वा साझा हुनुपर्छ । हाम्रो सन्दर्भमा एफवान सफ्टले के गर्नुपर्छ, ई-सेवाले के गर्नुपर्छ भन्ने कुरामा सबैको एउटै सोच छ,’ उनले भने ।
बिजनेश पार्टनरसिपमा समस्या विशेषगरी आर्थिक कारणले आउने गरेको पाइन्छ । फाइनान्सियल पार्टमा एउटा कमजोर हुने र अर्को बलियो हुने हुँदा वा पैसा कमाउँदा एउटाले बढी फाइदा लिनेलगायतका कारण पार्टनरहरुबीच मनमुटाव हुने गर्दछ ।

‘यो सँगसँगै इगोको समस्या पनि आउँछ । काम म गर्ने, यो हिरो हुनेजस्तो भावना पनि आउ“छन् । तर, एफवानको हकमा कम्पनीका सुरुवातकर्ता, कोर टिम र सम्पूर्ण कर्मचारीको एकैनासको सोच र प्रतिबद्धता भएकै कारण त्यस्ता समस्या कहिल्यै महसुस गरेका छैनौं,’ सुवास थप्छन्, ‘अस्गर र विश्वास दुवै नहुने हो भने म केही नि होइनँ । यो फिलिङ मेरो मात्र होइन, सबैको नै हो । त्यही भएर नै कोही एक्लै जाने आँट नै गर्दैनौं । अहिलेसम्म जति रिजल्ट आएको छ, त्यो टिमले नै गर्दा भएको हो ।’ यसर्थ उनीहरु एफवानबाहेक अन्यत्र कल्पना पनि गर्न सकेका छैनन् र यो बिजनेशन दोस्ती एफवान सफ्टबाट रिटायर्ड नहुँदासम्मै निरन्तर रहनेमा प्रतिबद्ध छन् ।

 

हालका प्रडक्टलाई अन्तर्राष्ट्रियस्तरमा लैजाने योजना राखेका उनीहरु भन्छन्, ‘भविष्यमा संसारले नोटिस गर्ने टेक्नोलोजी हाम्रै टिमबाट बनोस् भन्ने चाहेका छौं । त्यो सामथ्र्य हामीसँग छ । किनकि, हामीसँग २४० जनाको प्रतिबद्ध टिम छ ।’

उपलब्धि र योजना

नेपालमा २४० जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिएको यो टिमले नेपाली आइसिटीको क्षेत्रमा थप लगानी गर्ने र नयाँ प्रोजेक्टहरु ल्याउने तयारी गरिरहेको छ । ‘सूचना प्रविधिमा नै फोकस भएर सर्भिसका लागि पनि केही कम्पनीहरु ल्याउँछौं कि भन्ने छ, यसका लागि फिजिबिलिटी स्टडी भइरहेको छ,’ विश्वासले सुनाए । आज एफवान सफ्टको छातामुनि विभिन्न कम्पनी र प्रडक्टमा काम गरेका सयौंले आफ्नो क्षमता निखार्न पाएका छन् ।

‘हामीले स्थापनाकालदेखि नेपाली प्रडक्टका लागि नै काम गर्यौं । आउटसोर्सिङबाट मनग्गे पैसा आउन सक्थ्यो होला । तर हाम्रो प्राइमरी फोकस कहिल्यै पनि पैसा भएन । यसले टिमलाई मजबुत रहिरहन सहयोग गरिरहेको छ,’ अस्गर भन्छन् । यो टिम पेमेन्ट र बैंकिङ ट्रान्जेक्सनमा आक्रामक योजनासहति लागिपरेको छ । हालका प्रडक्टलाई अन्तर्राष्ट्रियस्तरमा लैजाने योजना राखेका उनीहरु भन्छन्, ‘भविष्यमा संसारले नोटिस गर्ने टेक्नोलोजी हाम्रै टिमबाट बनोस् भन्ने चाहेका छौं । त्यो सामथ्र्य हामीसँग छ । किनकि, हामीसँग २४० जनाको प्रतिबद्ध टिम छ ।’

यस म्यागजिनको ग्राहक बन्न यहाँ क्लिक गर्नुहोस ।

Check Also

आइटी उद्योगका कामदारलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवालको जोड

नेपालको आइटी उद्योगमा कार्यरत कामदारहरुलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित …

वर्डप्रेसको नयाँ संस्करण ४.९ सार्बजनिक, नेपाली भाषामा पनि सजिलै चलाउन मिल्ने

शाण्डिल्य काफ्ले विश्व बजारमा अहिले कै सबै भन्दा चर्चित र धेरै प्रयोग हुदै आइरहेको खुल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *