Home / Featured / पत्रकारितामा कान्छो विधा अर्थात न्यू मिडिया

पत्रकारितामा कान्छो विधा अर्थात न्यू मिडिया

सन् १९६९मा अमेरिकी रक्षा विभागका अनुसन्धान विशेषज्ञले चारवटा कम्प्युटरको नेटवर्क अर्पानेटबाट प्रयोगात्मक रूपमा सूचना आदानप्रदान गर्न सफल भए । सन् १९७० मा यो प्रविधि टेलिटेक्स र भिडियो टेक्सको रुपमा विकास भयो । सन् १९९० मा बेलायती वैज्ञानिक टीम वर्नर लीले वेबसाइटहरु बनाउन आवश्यक एचटीएमएल कोडहरुको विकास गरे । जसबाट वेबपेजको निर्माण्ँ सम्भव भयो । यही दशकमा इन्टरनेटको विश्वव्यापी सञ्जाल (world wide web) को विकास भयो । सन् १९९२ मा अमेरिकाको Chicago Tribune अनलाइनको रुपमा इन्टरनेटमा प्रकाशित भयो । यसपछि नै आधुनिक अनलाइन पत्रकारिताको शुरुवात भएको मानिन्छ ।

नेपालमा वि.सं.२०५१ सालदेखि मर्केन्टाइल कम्युनिकेसन्सले व्यवसायिकरुपमा इमेल सेवा सुरु गरेको थियो । इन्टरनेट सेवाको पहिलो प्रयोग भने अंग्रेजी दैनिक दी काठमान्डू पोष्टले गरेको थियो । यो पत्रिकामा प्रकाशित हुने समाचारहरुलाई वि.सं.२०५२ भदौ १६ देखि इन्टरनेटमा राख्न थालिएको हो । विसं.२०५६ सालदेखि मर्केन्टाइल कम्युनिकेसन्सको नेपाल न्यूज डटकम (nepalnews.com)ले व्यावसायिकरुपमा नेपालमा अनलाइन पत्रकारिता सुरु गरेको हो । यसपछि कान्तिपुर पब्लिकेसनले कान्तिपुर अनलाइन सुरु गर्यो । जसलाई अहिले इकान्तिपुर डटकम (ekantipur.com) अन्तर्गत गाभिएको छ ।

राजा ज्ञानेन्द्रको सक्रिय शासनका विरुद्ध जनआन्दोलनलाई थप उर्जा प्रदान गर्न हिमाल मिडियाले २०६२ माघ १९ गतेबाट हिमाल खवरडटकम अनलाइन सुरु गर्यो । यसअघि केही युवाले अफबिट इस्यु अर्थात् पत्रकारिताको रिपोर्टिङमा नअटाउने कुरा युनाइटेड वि ब्लग www.blog.com.np मा लेखेका थिए । ०५८ सालमा तत्कालीन राजाले शाही कु गरेपछि मूलधारका सञ्चारमाध्यममा सेन्सरसिप लगाइयो । त्यतिबेला ब्लगमा निरन्तर जनपक्षीय मुद्धामा विचार, आलेख तथा अनुभव लेखिएको थियो । हजारौंले ब्लग पढ्थे । त्यतिबेला अहिलेजस्तो सामाजिक मिडिया पनि थिएनन् । पछि नेपाली भाषामा माइसन्सार mysansar नामको ब्लग आयो र अरु ब्लग पनि थपिए । सशस्त्र द्वन्दकालममा मारिएका जनादेश साप्ताहिकका तत्कालीन सम्पादक कृष्ण्ँसेन इच्छुकको सम्झनामा २०६० असोजदेखि कृष्णसेन अनलाइन डट ओआरजी (krishnasenonline.org) सुरु भयो ।

अनलाइन पत्रकारिताको यात्रा एक दशक पुगिसकेको छ । यसबीचमा इन्टरनेट, कम्प्युटर र स्मार्टफोन प्रयोगकर्ता बढिरहेका छन् भने त्यसअनुकुल अनलाइन मिडिया चलाउने होड बढेको छ । अनलाइनकै कारण परम्परागत मिडिया (अखबार, रेडियो र टिभी) हरुको आधिपत्य रोकिएको छ । ठूला प्रकाशन गृह, रेडियो र टेलिभजिनहरु समेत अब वेबसाइट र मोबाइल एपबाट पाठक, स्रोता र दर्शकसामु आउदैछन् । अनलाइन पत्रकारिता मात्रै गर्ने समूहको संख्या करिब ४ सयको हारहारीमा पुगिसकेको छ ।

फस्ट हुने दौडमा फ्याक्ट गुम्ने खतरा
सूचना दिनु हरेक मिडियाको धर्म हो । तर, यसलाई प्रतियोगिता ठानी कसले पहिले पोस्ट गर्ने प्रतिष्पर्धा चलाउनु चैं गलत पत्रकारिताको अभ्यास हो । आफ्नो साइट भिजिट गराउन उट्पट्यागं शीर्षक राखेर पाठकलाई बेकुफ गराउने हर्कत अझै केही साइटहरुले गरिरहेका छन् ।

केही अनलाइन साइटहरुले न्युज ब्रेक गर्ने होडमा सत्यताको पुष्टि नहुदै सूचना सम्प्रेषण गरिरहेका छन् । जसले समग्र अनलाइन पत्रकारिताकै छवि धमिल्याएको बुझाई हाम्रो कुरा डटकमका सम्पादक अजयबाबु शिवाकोटीको छ । उनका अनुसार व्यवसायिक आचरण नभएका अनलाइन साइटहरु रातारात हिट हुने मनशायमा गलत सूचना सम्प्रेषण गरिरहेका छन् ।

यद्यपि सबै साइट पहिलो हुने होडमा सधैं गलत समाचार मात्रै पोस्ट गर्छन् भन्ने होइन । तर अरुलाई उछिन्ने निहुमा घटनाकौ उल्टो विवरण दिने गरी समाचार आउने क्रम रोकिएको छैन । समाचारले समाजमा कस्तो असर पार्छ ? त्यो समाचार नदिदा पनि समाचारको कल्याण हुन्छ कि वा समाचारका कारण कोही पीडीत पो भएको छ कि ? यस्ता कुरामा अनलाइन मिडिया सञ्चालक र पत्रकारको ध्यान जानु अत्यावश्यक छ । हाल चलेका साइट हौं भन्ने अनलाइन मिडियाहरुले पनि बेलाबेला प्रोपागान्डा मच्चाउने गरेकाे अनुभव हामीसामु छ ।

र्‍याकिंङमा माथि उक्लनकै लागि गलत समाचार पोस्ट गर्ने प्रवत्ति रोक्नुपर्ने आवाज सरोकारवालाको छ । कसैलाई मानहानी भइहाले पनि त्यसको कानुनी उपचार खोज्ने बाटो स्पष्ट छैन । प्रेस काउन्सिलले विभिन्न प्राविधिक समस्याका कारण स्वअनुगमन गर्न नसकेको गुनासो गर्छ । यद्यपि काउन्सिलमा परेका केही उजुरीउपर आचारसंहिचाको अनुगमन तथा कारबाही प्रक्रिया सञ्चालन भइरहेको जानकारी आचारसंहिता अनुगमन उपसमितिले दिएको छ ।

तर अधिकांश समाचार साइटहरुले हचुवामै समाचार लेख्ने र पिडीतले उजुरी गर्न नभ्याउदै इडिट वा डिलिट हुने प्रवत्ति बढ्दो छ । यस्ता कार्यले अनलाइन मिडियाको विश्वसनीयतामा प्रश्न उठाइरहेको छ । पछिल्लाे प्रेस काउन्सिलकाे अाचारसंहितामा त्यसरी डिलिट गर्न नपाइने वा गरे अद्यावधिक गराउनुपर्ने भनिए पनि याे प्रवृत्ति राेकिन सकेकाे छैन ।

पहिचानको लडाइमा अनलाइन पत्रकारिता
राज्यले अनलाइन मिडियालाई पहिचान नदिएकै कारण यसको संख्या यकिन गर्न सकिएको छैन । अखबारजस्तो सूचना विभागमा दर्ता भएर मात्रै प्रकाशित हुने प्रावधान अनलाइनमा छैन । जहाँसुकैबाट डोमेन र होस्टिङ सुविधा लिएर अनलाइन न्युजपोर्टल चलाउन सकिन्छ । ‘अमेरिका, जापान, कोरिया, मलेसिया, अरब मुलुकलगायतका देश र स्वदेशभित्रै पनि सूचना प्रविधिमा इच्छुक नेपालीले समाचार साइटहरु चलाइरहेका छन् ।

अनलाइन पत्रकारितालाई कसरी पहिचान दिने ?

  • अनलाइनमा समाचारमूलक, ब्लग र संघसंस्थाका वेवसाइटहरुको वर्गीकरण गरिनुपर्छ । र, समाचारमूलक अनलाइनहरुका लागि छुट्टै नियम बनाउनुपर्छ । यसका लागि प्रेस काउन्सिलले काम गरिररहेकाे बताउँछ ।
  • समाचारमूलक अनलाइनलाई अखबारजस्तै सूचना विभागमा दर्ता गर्ने, दर्ता भएको अनलाइन मिडिया कार्यालयको स्थलगत अवलोकन गर्नुका साथै न्यूनतम परिमाणमा पत्रकारलाई स्थायी नियुक्ती दिएर सञ्चालन भएका अनलाइन न्युज पोर्टललाई निश्चित अवधिको परीक्षण कालपछि प्रमाणपत्र उपलव्ध गराउनुपर्छ ।
  • सूचना विभागबाट स्थायी प्रमाणपत्र पाएका समाचार मूलक अनलाइनलाई वितरण सम्परीक्षण (एबीसी) मा ल्याउनुपर्छ र लोककल्याणकारी विज्ञापन दिनुपर्छ ।
  • आचारसंहिता उल्लंघन गर्ने अनलाइन मिडियालाई (प्रेस काउन्सिल नेपालले) अखबारलाई जस्तै कारबाहीको दायरामा ल्याउनुपर्छ ।
  • अनलाइन मिडियाको वितरण सम्परीक्षणको निदान गुगलको एलेक्जा एनालाइसिसबाट मात्रै नगराई सूचना विभागले स्वतन्त्र प्राविधिक डेस्क खडा गरी व्यावसायिक पत्रकारिताका दृिष्टले अनलाइन न्युज पोर्टलको र्‍याङकिङ गर्नुपर्छ । अश्लील र ग्लामर सामग्रीका कारण कुनै अनलाइन बढी ‘लाइक’ भयो भन्दैमा उसैलाई र्‍याङकिङमा माथि राख्ने र सुविधा दिने गर्नु बुद्धिसंगत हुदैन । व्यावसायिक पत्रकारितालाई प्राथमिकता दिनुपर्छ ।

अब डिजिटल सञ्चारको जमाना
सूचना प्रविधि क्षेत्रमा आएको नाटकीय परिवर्तनसगै मानिसको दैनिकी पनि फेरिएको छ । अब सूचना पाउनका लागि अखबार, रेडियो वा टिभीलगायतका आमसञ्चारका साधन नै कुर्नृपर्छ भन्ने छैन । अनलाइन मिडिया अर्थात् न्यु मिडियाको विकासले मानिसको छिटो सूचना पाउने चाहना पुरा मात्रै भएको छैन, आफ्ना विचार प्रस्तुत गर्ने सही माध्यम पनि अनलाइन बनिरहेको छ ।

यसर्थ अनलाइन माध्यम सूचना संवाहकमात्रै नभई प्रेषक र प्रापकबीच छिटो अन्तरक्रिया गराउने सञ्चार साधन पनि बनेको छ । परम्परागतरुपमा सञ्चालन भइरेका पत्रिका, रेडियो र टेलिभिजन समेत अनलाइनमार्फत प्रकाशित र प्रशारण भइरहेका छन । यो डिजिटल जमनाको आवश्यक्ता पनि हो । अनलाइन मात्र नभएर सञ्चार माध्यमहरु मेवाइल र ट्याब मै चहिसुकै हेर्न र पढ्न सकिनेगरि एप्समा पनि प्रस्तुत भइरहेका छन । यो छोटो समयमा नै नेपालमा पनि यो परिवर्तन देखिएको छ, जसले डिजिटल जमनाका पुस्तालाइ मिडियाले पनि परिवर्तन हुदै समेटिरहेको छ ।

नेपालमा हाल ५० प्रतिशतभन्दा बढी जनतासग इन्टरनेट सुविधा छ । करिब सबै जनताको हातमा मोबाइल पुगेको छ । यसभित्र पनि एन्ड्रोइड स्मार्टफोन तथा ट्याब्लेट, आइफोन र विन्डोज प्रयोग गर्ने नेपालीको संख्या २० लाख छ । त्यस्तै ८० लाख नेपालीहरुले फेसबुक चलाउछन् जुन नेपालका सबै प्रमुख दैनिक अखबारहरुको पाठकको संख्याभन्दा दोब्बर हो । यसबाहेक एप्स, ब्लग, इन्टरनेट छलफल, अनलाइन समाचार, युट्युब र टिव्टरमा नेपालीहरुको आबद्धदता बढिरहको छ ।

आजकल यस्तै माध्यमबाट न्युज ब्रेक भइरहेका छन् । जोसँग सूचना छ उसैले पहिले सामाजिक सञ्जालमा ब्रेक गर्छ । यसपछि मात्रै अनलाइन साइटबाट यस्ता सूचनाले स्थान पाउन थालेका छन् । टिभी, रेडियो र अखबारमा सूचना आइपुग्नु अघि नै मानिसले सो सूचना पाइसक्छ । त्यसकारण इन्टरनेटको पहुच भएका ठाउमा सजिलै डिजिटल सञ्चारको अवधारणा विकास भइरहेको छ ।

अनलाइन मिडिया : संभावना र चुनौती
उपलब्धता र पहुचको दृष्टिले अनलाइन पत्रकारितालाई छापा माध्यम, रेडियो र टेलिभिजन पत्रकारिताभन्दा प्रभावकारी मान्न सकिन्छ । यति हुदाहुदै पनि यसलाई पत्रकारिताको एक छुट्टै विधाका रुपमा स्थापित गर्न सकिएको छैन । अन्य सञ्चार माध्यमलाई दिइदै आएको आथिर्कलगायतका सुबिधा अनलाइन पत्रकारिताले पाएको छैन । नया मिडिया कानुन नबन्दासम्मका लागि अनलाइन मिडियाको नियमन र व्यवस्थापनमा छुटटै व्यवस्था ल्याउने भनिए पनि कार्यान्वयनमा आउन सकेको छैन ।

राज्यको यस्तो अदुरदर्शीपनका बाबजुद पनि अनलाइन मिडिया मूलधारको पत्रकारिताको रुपमा उदाउनुलाई सकारात्मक मान्नैपर्छ । खासगरी प्रविधि प्रयोग र इन्टरनेट सेवा सहज बन्दै गएका कारण अनलाइन सेवाको विकास र विस्तारमा थप सहयोग पुग्ने विश्वास गरिएको छ ।

अनलाइनका पाठक बढ्दै गर्दा पुराना सञ्चारगृह अनलाइन भर्सनमा आउनु, नेपाली भाषामै अपरेटिङ सिष्टम र कम्प्युटर प्रोगामहरुको विकास हुनु, कम्प्युटर र मोबाइल फोनबाटै सेवा लिन सक्नु लगायतका कारण अनलाइन मिडियाको उपभोग बढिरहेको छ ।

राजधानीबाहिर समेत थुप्रै समाचारमूलक अनलाइन साइटहरु सञ्चालन भइरहेका छन् । तर अधिकांश साइटहरुले दिने कन्टेन्टमा बारम्बार प्रश्न उठिरहेको छ । अधिकाश साइटहरुको मैलिक रिपोर्ट हुदैन । नेताहरुको फेसबुक र ट्विटर, इमेलमा आएको प्रेस विज्ञप्ती र अर्काको समाचार कपी गरी पोस्ट गर्दैमा अनलाइन पत्रकारिता हुदैन । चलेका भनिएका साइटले पनि ओपिनियन मात्रै दिइरहेका छन्, पत्रकारितामा रिपोर्टिङ चाहिन्छ । रिपोर्टिङका लागि इन्भेष्ट गर्नुपर्छ र रिपोर्टरलाई ट्रेन गर्नुपर्छ । नेपालका अनलाइन साइटहरु यही चुकेका छन् ।

Check Also

सम्भावना राम्रो भएर पनि चल्न नसकेका नेपाली आइटी प्रडक्टहरु

पछिल्लो वर्षयता नेपाली उद्यमीले पनि ‘इन्नोभेटिभ आइडिया’मा काम गरिरहेका छन् । मुख्यत: दूरसञ्चार र इन्टरनेटका …

स्टार्टअपलाई रविको सल्लाह : बिजनेशमा ल्याउनुअघि ‘म्याक्सिमम होमवर्क’ गर्नुहोस्

रवि फुयाल उद्यमशीलता, शिक्षा र प्रविधि गरी तीन क्षेत्रमा क्रियाशील छन् । उनी इन्नोभेटिभ नेपाल …

Leave a Reply

Your email address will not be published. Required fields are marked *