Home / Featured / ‘शुक्रबारको साइबर हमला हालसम्मकै ठूलो’

‘शुक्रबारको साइबर हमला हालसम्मकै ठूलो’

संसारभरका कैयौं संघसंस्थामाथि शुक्रबार गरिएको साइबर हमला हालसम्मकै ठूलो भएको युरोपको प्रहरी निकाय युरोपोलले बताएको छ।

आक्रमणकारीबारे पत्ता लगाउनका लागि जटिल आन्तरिक अनुसन्धान गरिने उक्त निकायले चेतावनी समेत दिएको छ।

शुक्रबार विश्वभरका ९९ देशका कम्तीमा ७५ हजार कम्प्युटरका सामाग्री गोप्य तरिकाले मात्र हेर्न मिल्ने बनाइएको थियो र त्यसलाई साबिकको रुपमा फर्काउन पैसा मागिएको थियो।

रुस लगायतका युरोपेली देशहरु सबैभन्दा बढी प्रभावित भएका छन्।

जोखिम

‘वान्नाक्राइ’ नाम दिइएको त्यो आक्रमण गर्ने सफ्टवेयर फैलिन कम भएजस्तो छ तर जोखिम चाहिँ हटिसकेको छैन।

आफ्नो साइबर अपराध शाखाले प्रभावित देशहरुसँग मिलेर काम गरिरहेको युरोपोलले जनाएको छ।

आक्रमणका कारण धेरै अस्पतालले आफ्नो काम कारबाही रोक्नुपरेको थियो।

रुस सबैभन्दा बढी प्रभावित भएको ठानिएको छ।

रुसी ब्यांकहरु, मन्त्रालयहरु र सरकारी रेल सञ्जाल प्रभावित भएको बताइएको छ।

संवेदनशील

रुसको आन्तरिक मामिला मन्त्रालयले एक हजार कम्प्यूटर प्रभावित भएपनि त्यो समस्याको चाँडै समाधान गरिएको र संवेदनशील सामाग्री प्रभावित नभएको बताएको छ।

जर्मनीको एउटा रेल टिकट मेशिन र इटलीको एउटा विश्वविद्यालयको कम्प्युटर ल्याब जस्ता प्रभावित क्षेत्रका तस्वीरहरु मानिसले सामाजिक सञ्जालमा राखिरहेका छन्।

चीनले यस विषयमा कुनै टिप्पणी गरेको छैन तर एउटा विश्वविद्यालयको कम्प्युटर ल्याब प्रभावित भएको सामाजिक सञ्जालमा देखिएको छ।

शुक्रबार त्यो भाइरस निकै चाँडै फैलिएको थियो।

सुरक्षा

आक्रमणका लागि कम्प्युटरहरुबीच आफैं सर्ने सफ्टवेयर प्रयोग गरिएको जस्तो देखिएको छ।

आक्रमण कसले गरेको हो त्यो स्पष्ट भइसकेको छैन तर त्यसमा प्रयोग गरिएका साधन अमेरिकाको राष्ट्रिय सुरक्षा निकायले बनाएको ठानिएको छ।

‘इन्टर्नलब्ल्यू’ नामको त्यो सफ्टवेयर ह्याकरहरुले चोरेका थिए र गत एप्रिल महिनामा ‘राष्ट्रपति ट्रम्प प्रतिको विरोध’ भन्दै त्यसलाई सार्वजनिक गरेका थिए।

ब्रिटेनस्थित एकजना साइबर सुरक्षाका अनुसन्धानकर्ताले संयोगवश त्यो सफ्टवेयरलाई निष्क्रिय पार्ने कदम चालेपछि त्यो फैलिने क्रम घटेजस्तो देखिएको बताएका छन्।

तर उनले त्यो समाधान तत्कालका लागि मात्रै भएको भन्दै कम्प्युटर प्रयोगकर्तालाई आफ्नो सुरक्षा सुदृढ बनाउन आह्वान गरेका छन्।

-बिबिसी

Check Also

सम्भावना राम्रो भएर पनि चल्न नसकेका नेपाली आइटी प्रडक्टहरु

पछिल्लो वर्षयता नेपाली उद्यमीले पनि ‘इन्नोभेटिभ आइडिया’मा काम गरिरहेका छन् । मुख्यत: दूरसञ्चार र इन्टरनेटका …

स्टार्टअपलाई रविको सल्लाह : बिजनेशमा ल्याउनुअघि ‘म्याक्सिमम होमवर्क’ गर्नुहोस्

रवि फुयाल उद्यमशीलता, शिक्षा र प्रविधि गरी तीन क्षेत्रमा क्रियाशील छन् । उनी इन्नोभेटिभ नेपाल …

Leave a Reply

Your email address will not be published. Required fields are marked *