Home / Featured / युट्युबभरि तीज भाका

युट्युबभरि तीज भाका

कोरियाग्राफर शंकर बिसीलाई अचेल धेरैले जिस्काउने गर्छन्, ‘तिमीले नेपालका टेलिभिजन च्यानलहरू किन्यौ कि क्या हो?’

साँझबिहान सबैजसो च्यानलमा शंकर नै नाचिरहेको देखिने भएकाले यस्तो कटाक्ष अस्वाभाविक पनि होइन। यद्यपि, अहिले टीभीमा भन्दा युट्युबमा तीज भाका बढी भेटिन्छन्। ‘टीभी त उही गाउँघरमा इन्टरनेट चलाउन नजान्नेहरूका लागि मात्रै हो,’ अहिलेसम्म दुई दर्जनजति तीज गीत गाइभ्याएकी गायिका देवी घर्ती मगर भन्छिन्, ‘मेरा प्राय: गीत युट्युबबाटै आइरहेका छन्।’

भदौ १९ मा परेको हरितालिका तीजका लागि अहिलेसम्म ४२ वटा म्युजिक भिडियोमा मोडलिङ र ६२ वटाजति भिडियो निर्देशन गरिसकेका शंकर भने दुवैतिर उस्तै रहेको बताउँछन्। ‘नयाँ प्रविधिको पावर अलि बढी भएकाले युट्युबको क्रेज बढ्दो छ,’ उनी भन्छन्।

उनका अनुसार यसपालि श्रोताले खाँटी भाकादेखि आधुनिक भावका तीज गीत सुन्न पाउँछन्।

‘सासु(ससुराबाट हेपिएका कुरा, श्रीमती पीडितको रोदन, माइतीको सम्झनाले विहल चेली लगायत सबैका भावना श्रोताले सुन्न पाउनुहुनेछन्,’ शंकर सुनाउँछन्। उनले सबैभन्दा बढी तीज गीत गाएका पशुपति शर्माका चार वटाजति गीतको भिडियो बनाइदिइएका छन्।

पशुपतिले चाहिँ योपल्ट कोमल वलीदेखि कल्पना श्रीपाल, अमृता लुंगेली मगर, बेलीमाया पुलामी, सम्झना भण्डारी लगायत गायिकाहरूसँग तीजे भाकामा स्वर मिलाएका छन्। पशुपतिकै शब्द र संगीतमा बनेको ‘लास्टै चोटि हो…’ बोलको आफ्नो गीत निकै लोकप्रिय भइरहेको कोमल बताउँछिन्। २०५९ सालदेखि तीज गीत गाउन थालेकी कोमलको यो चौधौं भाका युट्युबमा अपलोड गरेको दुई साताभित्रै साढे १० लाखभन्दा बढीले हेरिसकेका छन्।

‘मेरा लगभग सबै तीज गीत हिट छन्,’ कोमल भन्छिन्, ‘अरूका भन्दा अलि फरक शैलीका हुने भएकाले मेरा गीत रुचाइएका होलान्।’

२०६३ सालमा ‘पोइल जान पाम्’ गाएकी कोमलले त्यसपछि ‘डिस्कोमा तीज’, ‘खल्तीमा गाँठ भाको’, ‘हल्ला भो शिवजी’ जस्ता गीत तीजको छेकोमा सार्वजनिक गरेकी थिइन्। यसपालि पनि ठट्यौली पाराकै गीत गाएकी उनी तीजलाई महिला आवाज तेजिलो पार्ने असर ठान्छिन्।

धेरैजसो नयाँ भाइहरूका गीतमा साथ दिएको बताउने देवीले ‘माइतीले नौगेडी लाइदिए’ नामक एल्बम पनि निकालेकी छन्। ‘मेरा गीत तीज सुहाउँदा छन्,’ उनी भन्छिन्, ‘सबैमा तीज गीतको मौलिकपन झल्काउन खोजेकी छु।’

त्यसो त देवीले दोहोरी शैलीका र तीजमै माया लगाऊँ भन्ने खालका ‘मोडर्न’ भावका गीत पनि गाएकी छन्। धेरैजसो नयाँ गायकगायिकाले प्राय: ठट्यौली पाराका गीत निकालिरहेको उनी बताउँछिन्। ‘श्रोताले यस्तै भाका मन पराएर होला, नयाँ भाइबहिनीले पनि तीजका लागि रमाइलो प्रकृतिका गीत तयार पारिरहेका छन्,’ उनी भन्छिन्, ‘कतिले यसलाई विकृति भन्छन्, कतिले श्रोताको माग। हामी गाउने मान्छे अलमलमा पर्छौं।’

तीजकै गीत गाएर आफ्नो परिचय स्थापित गरेकी गायिका सुनीता दुलालले यसपाली अलि ढिलो गीत सार्वजनिक गरिन्। ‘पर्व नआउँदै गीत निकालिहाल्ने?’ भन्ने खालको आरोप खेप्नु नपरोस् भनेर उनले जानाजान भिडियो खिच्न आलटाल गरेकी थिइन्। ‘पहिले–पहिले तीजका लागि दुइटा गीत गर्थें,’ उनी भन्छिन््, ‘यसपालि एउटा मात्रै गरेकी छु। संख्याभन्दा गुणस्तरलाई प्राथमिता दिऊँ भनेर यसो गरेकी हुँ।’

सुनीता शनिबार सार्वजनिक गरेको आफ्नो भाका ‘यसपालि नि खानी दर’ को निर्माणका लागि कुनै कसर बाँकी नराखेको बताउँछिन्। तीज पर्वको महिमालाई छर्लङ पार्ने शब्द र नौलो किसिमको संगीत संयोजनले गीतलाई परिपक्व बनाएको भन्दै उनी खाँटी गीत तयार पारेको दाबी गर्छिन्। ‘पहिलेका भन्दा गम्भीर र स्वादिलो गीत निकालेकी छु,’ उनी ढुक्कसाथ भन्छिन्।

कुनै बेला पुरुषले तीज गीत गाउनु हुँदैन भन्दै कर्किने गायक नवीन पौडेल अहिले तीजे भाकामै सुनिइरहेका छन्। शब्दमा तीजको भाव नभए पनि लय र ताल तीजमय बनाएको उनी स्विकार्छन्। ‘विदेशमा रहेका श्रोताले कर गरेपछि आफ्नै अडान लत्याएँ,’ आफूले बोली फेर्नुबारे उनी तर्क गर्छन्, ‘यसपालि दुइटा तीज भाका बजारमा ल्याएको छु।’

नवीनका ‘दु:खका दिन गए’ र ‘नयाँ पार्टी खोल्छु’ मा वर्तमान सामाजिक र राजनीतिक मुद्दा उठाइएको छ। तीजलाई माध्यम बनाएर समाज परिवर्तन र जनजागरणका कुरा अघि सारेको भन्ने उनी अर्कोपटक पर्व विशेषमै केन्द्रित भएर गुनगुनाउने बताउँछन्। ‘तर, लोकप्रियताका लागि मात्रै नभएर समाजलाई केही लाभ पुगोस् भन्ने कुरामा सचेत रहेर गाउँछु,’ उनी सुनाउँछन्।

स्राेत ः कान्तिपुर दैनिक

Check Also

सिम टिभीसहित ३ आइएसपीको अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा एनटिए

दूरसंचार प्राधिकरणले शर्त बमोजिम सेवा संचालन नगरेको र बित्तीय विवरण समेत नबुझाएको भन्दै तीनवटा इन्टरनेट …

जिएसएम तथा सिडिएमए सेवाका ग्राहकलाई टेलिकमको प्रमोसनल अफर

आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *