Home / Featured / निर्वाचनमा होमिए जनता, निर्वाचन आयोग भन्छ : उत्साहजनक मतदान भइरहेकाे छ

निर्वाचनमा होमिए जनता, निर्वाचन आयोग भन्छ : उत्साहजनक मतदान भइरहेकाे छ

स्थानीय तहका लागि आइतवार जारी पहिलो चरणको निर्वाचनमा जनताको उत्साहजनक सहभागिता देखिएको छ । तीन प्रदेशका ३४ जिल्लामा रहेका २ स ८३ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान कार्य भइरहेको निर्वाचन आयोगले बताएको छ । आइतवार जारी मतदानका लागि निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी), निर्वाचनका लागि खटिएका मुख्य निर्वाचन अधिकृत, आयोगबाट खटिएका अनुगमनकर्ताले आयोगलाई दिएको जानकारीअनुसार मतदान कार्य उत्साहजनक रूपमा भइरहेको बताइएको छ ।

२० वर्ष भएको स्थानीय निर्वाचनमा ज्येष्ठ नागरिक, महिला, अशक्तहरूसमेत बिहानैबाट मतदान कार्यमा उत्साहपूर्वक सहभागी भएको पाइन्छ । स्थानीय सरकारका लागि स्थानीय ब्यक्तिलाई नै चुन्ने अवसरका कारण हरेक उमेर समूहका मतदातामा चुनावका लागि उत्साह छाएको देखिन्छ ।

निर्वाचनको केहि दिन अगाडि देखि नै खाली बन्दै गएको उपत्यकाको सडक र बजार सुनसान देखिन्छन् । निर्वाचनका दिन अनुमति बेगरका सवारी साधन चल्नमा कडाई गरेपछि उपत्यका सहितका चुनाव भइरहेको क्षेत्रमा शान्तीपूर्ण वातावरणमा मतदान भइरहेको छ । सृुरक्षा ब्यबस्था मजबुत पारिएका कारण मतदान शुरु भएपछि अहिलेसम्म कुनै अप्रिय घटना नभएको आयोगले बताएको छ ।

अपेक्षाभन्दा बढी मतदान : प्रधानमन्त्री 

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतवार बिहान ७ बजेर ८ मिनेट जाँदा भरतपुर महानगरपालिका वडा नं ४ स्थित लक्ष्मी मावि लङ्कुको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका छन् । नेपालमा पहिलोपटक अधिकार सम्पन्न स्थानीय तहको निर्वाचन सम्पन्न हुन लागेकाले जनतामा निकै ठूलो उत्साह रहेको मतदानपछि उनले प्रतिक्रिया दिँदै भने ।

किरियापुत्रीद्वारा कोटेश्वरमा मतदान

लामो समयपछि भएको स्थानीय तहको निर्वाचनमा वासुकीनगर, सिद्धमार्ग, कोटेश्वरका किरियापुत्री अर्जुनबहादुर बस्नेतले नवज्योति स्कुल मतदान केन्द्र कोटेश्वरबाट मतदान गरेका छन् । उनका बुबा लोकबहादुरको ९२ वर्षका उमेरमा यही वैशाख २३ गते निधन भएपछि उनी बुबाको किरिया कर्ममा रहेका थिए । किरीयापुत्रीसँगै उनकी श्रीमती र छोराले पनि मतदान गरेका छन् । आफू किरियामा बसे तापनि बीस वर्षपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले आफूले र आफ््नो परिवारले आफ्ना अमूल्य मतको प्रयोग गर्ने मौकाको सदुपयोग गरेको उनले बताए ।

५७ प्रतिशतसम्म मत खस्यो
काठमाडौंसहित ३४ जिल्लामा भइरहेको स्थानीय तह निर्वाचनमा ५७ प्रतिशतसम्म मत खसेको छ । विहान ७ बजेबाट सुरु भएको मतदान अहिलेपनि जारी छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म करिब ५७ प्रतिशतसम्म मत खसिसकेको छ । मध्यान्ह साढे १२ बजेसम्म सबैभन्दा कम ३० प्रतिशत र सबैभन्दा बढि ५७ प्रतिशत मत खसेको छ ।

सबै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रुपमा सञ्चालन भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाअन्तर्गतको एउटा मतदान केन्द्रमा अहिलेसम्म मतदानको कार्य सुरु हुन सकेको छैन । त्यहाँ मतदान सुरु गराउन सहमतिको प्रयास भइरहेको आयोगले जनाएको छ ।

सय वर्ष माथिका वृद्धद्वारा मतदान
स्थानीय चुनावको उत्साहका कारण एक शताब्दी उमेर कटाएका वयोबृद्धहरुले पनि आइतवारको निर्वाचनमा भाग लिएका छन् । ककनी गाउँपालिका–८ का १ सय १५ वर्षीया बाटुली लामिछानेले ककनीगाउँपालिका–८ मात्रागाउँमा रहेको अरूणोदय मावि मतदान केन्द्रबाट स्थानीय तहको निर्वाचनमा मतदान गरेकी छिन् । गोरखामा १ सय ५ वर्षीय नन्दबहादुर पौडेलले गोरखा नगरपालिका–१० स्थित चन्द्रज्योति विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् । गैँडाकोट नगरपालिका वडा नं ८ निवासी १ सय ४ वर्षीय भूमिश्वर सापकोटाले प्रदेश नं ४ अन्तर्गत रहेको कालिका मतदान केन्द्रमा भएको मतदान गरेका छन् । यस्तै, जिल्लाको दुप्चेश्वर गाउँपालिका–५ का १ सय ४ वर्षीया तुलसीकुमारी खत्रीले महादेव मावि मतदान केन्द्रमा मतदान गरेकी छिन् ।

केन्द्रकाे झगडा गाउँमा नल्याउनु ः राष्ट्रकवि

राष्ट्रकवि माधवप्रसाद घिमिरेले पनि स्थानीय तहको निवार्चनमा मतदान गरेका छन् । काठमाडौंको लैनचौरको कन्या हाइस्कुलमा मतदान गर्दै ९७ वर्षाीय माधवप्रसाद घिमिरेले २० वर्षपछि स्थानीय चुनावमा भाग लिन पाउँदा खुसी लागेको बताए । उनले देशलाई अस्थिर नराख्न राजनीतिक दलहरुलाई आग्रह पनि गरे । उनले भने,’नेताहरु केन्द्रमा झगडा गर्नुहुन्छ, त्यसलाई अब स्थानीय स्तरमा नल्याउनू’ घिमिरेले भने,’गाउँटोलमा त मिलेर बस्ने हो । यहाँ दाजुभाई मिलेरै बस्नुपर्छ । यहीँबाटै मिलेर जानुपर्छ ।’

Check Also

इ सेवा लगायत तिन कम्पनिले पाए पेमेन्ट गेटवेको लाइसेन्स

नेपाल राष्ट्र बैंकले एकै दिन तीन कम्पनीलाई पेमेन्ट गेटवे लाइसेन्स प्रदान गरेको छ । केन्ऽीय …

एनसेलद्वारा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *