Home / Featured / सम्भावना ई-कमर्समा

सम्भावना ई-कमर्समा

वेबमा अहिले सबैभन्दा लोकप्रिय बनेको छ, सपिङ । कुनै वस्तु वा सेवाको मार्केटिङ गर्ने उत्तम थलो नै अनलाइन बनिरहेकै बेला अनलाइनमै खरिदविक्री हुनु अचम्म रहेन । तर, ई–कमर्सको अभ्यास सुरु भएको साढे दुई दशकअघि नै हो । सन् १९९१ मा जब इन्टरनेट व्यापारिक प्रयोजनका लागि खुला गरियो, त्यसपछि ई–कमर्स सम्भव भयो । त्यसयता हजारौं बिजनेसको थलो अनलाइन बन्न थाल्यो ।

सन् २००० पछि संयुक्त राज्य अमेरिका र पश्चिम युरोपका हजारौं बिजनेसहरु इन्टरनेटको वल्र्डवाइड वेबमा अटाए । आज ई–कमर्सको महारथी अमेजनले मात्रै एक वर्षमा करिब एक सय ५० बिलियन डलर अनलाइनबाटै आम्दानी गर्दछ । अमेजनका संस्थापक जेफ बेजोस त बिल गेट्सपछिको संसारकै धनी व्यक्ति पनि हुन् । त्यस्तै जेडी, वालमार्ट, अलिबाबा, एप्पल, ईबे जस्ता कम्पनीहरुले ई–कमर्सकै माध्यमबाट विलियन डलर कमाइरहेका छन् भने विश्वभर नै सेवा विस्तार गर्न सफल भएका छन् ।

हाम्रै छिमेकी देश भारतको पहिलो अरबौं डलरको कम्पनी फ्लिपकार्ड पनि ई–कमर्स मार्केटप्लेस हो । यसका रजिस्टर्ड कस्टमर मात्रै १० करोड पुगेका छन् । चीनको ई–कमर्स कम्पनी अलिबाबाले गत महिना मात्रै अमेजनलाई उछिन्दै विश्वकै ठूलो कम्पनी बनेको छ । आज विश्वमा ठूलाठूला म्यानुफ्याक्चर कम्पनीहरुको ध्यान पनि ई–कमर्समा तानिएको छ । उनीहरुले आफ्ना उत्पादन आफ्नै अनलाइन स्टोरमार्फत् उपभोक्तालाई विक्री गर्न थालेका छन

नेपालमा ई–कमर्स
घरमै बसेर कम्प्युटर वा मोबाइलको माध्यमबाट आफूलाई चाहिएको सामानमा क्लिक गरेपछि घरमै आउने अनलाइन सपिङ प्रवृत्ति नेपालमा पनि लोकप्रिय बन्दै छ । अहिले नेपालमा ५ सयभन्दा बढी अनलाइन सपिङ साइट अस्तित्वमा रहे पनि सक्रियतापूवर्क चलेका अनलाइन सपिङ साइटहरु बढीमा १५ ओटा रहेका छन् । नेपालको ई–कमर्सको कुरा गर्दा प्रि पेमेन्टको व्यवस्था नभइसकेको, बैंकिङ प्रणालीमा जान नसकेको समस्या छ भने अर्कोतिर बिलिङ प्रणालीमा पनि खरिदकर्ता र विक्रेताबीच पारदर्शिता त्यति हुन सकेको छैन ।

नेपालमा सन् २००० देखि ई–कमर्सको सुरुवात भएको पाइन्छ । पछिल्लो वर्षसम्म आउँदा यो व्यवसाय निकै प्रतिस्पर्धी बनेको मेट्रोतरकारी डटकमका बस्नेत बताउँछन् । ‘अनलाइनबाट आफूले चाहेको कलर, ब्रान्ड, डिजाइन र फेसनका सामग्री पाउन सहज हुने भएकाले अनलाइन सपिङ फस्टाएको हो,’ उनले भने । नेपालमा पछिल्लो समय इन्टरनेटको प्रयोगदर बढेको र मानिस बेफुर्सदिलो र सुविधाभोगी भएका कारण यो व्यवसाय फस्टाएको तर्क उनको छ ।
नेपालमा मुन्चा डटकम, ठमेल डटकम, हरिलो डटकमलगायतले ई–कमर्स व्यवासयमा सुरुवाती लगानी गरेको पाइन्छ । बिस्तारै यसले व्यापकता पाउँदै गयो । विदेशमा रहेका आफन्तले चाडपर्व, मेला तथा विशेष अवसरमा विभिन्न अनलाइनमार्फत उपहार पठाउन पाएका छन् । नेपालमै बसीबसी युरोप–अमेरिकाबाट ग्याजेट मगाउन पनि अब टाढाको कुरा रहेन । स्थानीयस्तरमै पनि अनलाइन सपिङ मल, सुपरमार्केट आदिले ई–कमर्सको माध्यमबाट ‘होम डेलिभरी’सम्मको सुविधा दिएका छन् ।

हाल नेपालमा ई–कमर्स व्यवसायीले आफैं सामान स्टक राखेर आपूर्ति गर्ने, अरूको स्टकलाई प्रयोग गरी कमिसन लिने तथा अरूकै स्टक र आपूर्तिलाई विज्ञापन गरे जसरी ग्राहकसँग जोडिदिने गरी व्यवसाय गरिएको पाइन्छ । ई–कमर्सको बढ्दो प्रयोगसँगै नेपालमा करोडौं रुपैयाँको लगानी गरेर सुपरमार्केट खोल्ने संस्कृति मौलाउंदो छ, जसबाट उपभोक्ताले आधुनिक बजारको अनुभूति पाएका छन् ।

यिनमा हुने कारोबारबाट सरकारले समेत ठूलो अनुपातको राजस्व बुझिरहेको छ । नेपालमा आर्थिक गतिविधिमा शिथिलता छ भन्नेहरुका लागि सुपरमार्केटको कारोबारले भने अर्कै तस्वीर प्रस्तुत गरिरहेको छ ।

नेपालमा पर्यटन प्रवद्र्धनलगाायत र हातले बनाइएका सामग्री (हृयान्डिक्राफ्ट) को निर्यात वृद्धि गर्न ठूला अवसरहरु विद्यमान छन् । यद्यपि सरकारले यसमा उति चासो दिन सकेको छैन । व्यापारिक दृष्टिले महत्वपूर्ण कैयौं वस्तु स्थानीय स्तरबाट माथि उठ्न नसकेको तीतो यथार्थ हामीसामु विद्यमान छ । अनलाइनमार्फत यसको प्रवद्र्धन गर्न सक्ने हो भने आर्थिक विकासमा नेपालले नयाँ उचाइ लिन सक्नेमा दुईमत छैन ।

थरीथरीका ई–कमर्स व्यवसाय
थरीथरीका ई–कमर्स व्यवसाय गर्ने होड यतिबेला चलेको छ । एउटै साइटमा सयौं आइटम राख्नेदेखि एकैप्रकारका सामान राख्ने व्यवसायीहरुको संख्या बढिरहेको छ । कसैले चाडपर्व र मौसमअनुसार सामानहरु स्टोर गर्ने गर्छन् । ‘उपभोक्ताले आफूलाई चाहिने सबै सामानहरु एउटै साइटबाट चाहन्छन् । यसकारण हामीले अधिकांश आइटमहरु आफ्नो स्टोरमा समावेश गरेका छौं,’ सस्तोडिल डटकमका सञ्चालक थापाले भने । नेपालमा सामानअनुसारका साइट बन्ने क्रम बढेको पनि उनी बताउँछन् ।

कपडा, ग्रोसरी, मोबाइल, फेसन, इलेक्ट्रोनिक्स आदिका लागि छुट्टाछुट्टै ई–कमर्स व्यवसाय गर्नेहरुको संख्या बढ्दो छ । जस्तो भान्साका लागि आवश्यक पर्ने ग्रोसरी आइटम प्रदान गर्दै आएको मेट्रोतरकारी, खानाका पारखीका लागि घरमै विभिन्न स्वादिष्ट खाना लिएर आउने फुडमान्डु, नेपाली धातु तथा हस्तकला सामग्रीका लागि थाङ्का पेन्टिङ डटकम आदि उदाहरण हुन् । गिफ्टहरुका लागि मुन्चा डटकम र ठमेल डटकम धेरै वर्षदेखि नै परिचित छन् । उडान टिकेटका लागि नेपफ्लाइट्स सजिलाे बनिरहेकाे छ ।

मुन्चाले त सामानअनुसारका छुट्टाछुट्टै वेबसाइट निर्माण पनि गरेको छ । त्यस्तै पश्मिनाको व्यपार पसल डटकम र पश्मिनारस डटकमबाट हुने गरेको छ । त्यसैगरी ढुकुटी, म्युजिक नेपाललगायतले पनि अनलाइन किताब र गीतहरुको सपिङ सञ्चालन गरिरहेका छन् । ४ वर्षदेखि भी–ग्राफिक्सले उपहारहरु डटकम सञ्चालनमा गरिरहेको छ । त्यस्तै घरजग्गा खरिदबिक्री गर्न बसोबास डटकम लोकप्रिय छ । यीबाहेक ग्याजेट्सलाई केन्द्रित गरेर केही साइट पनि सञ्चालनमा आइरहेका छन् ।

फेसबुकले सजिलो
व्यापार योजनाका लागि अनलाइन मार्केटिङ अहिले लोकप्रिय बनिरहेको छ । कुनै पनि ब्रान्ड वा व्यापारका लागि सक्रियतापूर्वक फेसबुक प्रयोग हुने क्रम बढ्दो छ । नेपालमा मात्रै एक करोडको हारहारीमा फेसबुक प्रयोगकर्ता रहेकोमा अनलाइन व्यवसायीहरु फेसबुकप्रति आकर्षित भएका हुन् ।

फेसबुक सपिङ कार्ट वा ई–कमर्स एपको प्रयोग गरी फेसबुकबाटै सामान खरिदविक्री गर्न सकिने सुविधा पनि आनइसकेको छ । यतिमात्रै होइन फेसबुक, इन्स्टाग्राममा विज्ञापन गरेर वा पोस्ट प्रोमोट गरेर हजारौं ग्राहकसमक्ष पुग्ने अवस्था सिर्जना भएको छ । फेसबुक म्यासेजमै ग्राहकसँग लाइभ च्याट गर्न सकिन्छ ।
अहिले पछिल्लो ई–कमर्स भनेर चिनिने फेसबुक मार्केटप्लेसको लोकप्रियता बढेको देखिन्छ । फेसबुकले ई–कमर्स कम्पनीहरुका लागि ई–कमर्स एप्सहरु जस्तै StoreYa, Storefront Social, Ecwid, Shopify, ShopTab, Beetailer लगायतको विकास गरेको छ ।

यहीबीचमा केही विकृतिहरु पनि भित्रिएका छन् । घरबाटै चलाउने र फेसबुकबाट मात्रै प्रचार गरी केही मानिसहरुले सामान बेच्दै आएका छन् । ‘यसले नराम्रो ट्रेन्ड ल्याएको छ । घरबाटै चलाइरहेका उनीहरुलाई नाफा घाटाको कुरा हुँदैन । ओरिजिनल फोटो राख्ने तर डुप्लिकेट सामान बेच्ने गरेका छन् । यसबाट ठगी भइरहेको छ,’ मेट्रोतरकारीका सिइओ अनिलले भने । कसैले यस्तो नराम्रो गर्यो भने सबै ई–कमर्स व्यवसाय नराम्रो हो भन्ने भ्रम परेको हुने उनले सुनाए ।

किन फेल हुन्छन् ई–कमर्स प्रोजेक्ट ?
ई–कमर्सलाई अहिले फेसन बुझ्ने धेरै छन् । तर ई–कमर्स प्रोजेक्टहरु राम्रोसँग चल्न नसकेकाले बन्द हुने क्रम पनि बढ्दो छ । ‘ई–कमर्सलाई सस्तो बुझाइ हुनाले यो समस्या आएको हो । डोमेन लियो अनि साइटमा प्रडक्ट राखेर मात्रै ई–कमर्स चल्ने होइन । प्रोसेस वाइज जानुपर्यो,’ मेट्राेतरकारीका सिइअाे अनिल बस्नेतले भने, ‘बिजनेस टिकाउने प्लान हुनुपर्यो । कम्पनी दर्ता भई कानुनी रुपमा कारोबार गरेको हुनुपर्यो । अहिले लङटर्म बिजनेस टिकाउने र राम्रो सर्भिस दिने कम्पनी निकै थोरै छन् ।’

उनको अनुभवमा ग्राहक पनि अब बाठो भइसकेका छन् । ई–कमर्स कम्पनीको प्रोफाइल हेरेर मात्रै उनीहरुले कारोबार गर्दछन् । यसकारण राम्रो डोमेन र सस्तो प्रचारले मात्रै ई–कमर्स नचल्ने उनको धारणा छ । अर्का उद्यमी अमुन थापाको विचारमा व्यवसायप्रति गरेको लगानी मात्रै ठूलो कुरो नभई बिजनेस एक्ज्युकेशन कसरी भइरहेको छ भनेर स्पस्ट हुन जरुरी छ ।

‘अहिले बिजनेस प्लालमा लगानी गर्ने बेला आएको छ । लगानी गर्न चाहने धेरै छन् । एक÷दुईओटा कम्पनीमात्रै सफल भइरहेका छन्,’ उनले भने । उनका अनुसार आन्टरप्रेनरहरु भविष्यको केही नसोचीकनै व्यवसाय सरु गर्ने र काममा स्थिरता आउँदा हडबडाउने प्रवृत्तिले नेपालमा धेरै ई–कमर्स व्यवसाय असफल हुने गरेको धारणा राख्छन् ।

लगानी पर्याप्त गरेर पनि असफल भएका केही व्यवसायहरुको कुरा गर्दा हरिलो डटकम र एसकान्तिपुर डटकमलाई लिइन्छ । ठूला घरानाबाट सञ्चालित अनलाइन व्यवसाय पनि सफल बन्न सकेको देखिँदैन ।

के होला वैधानिक बाटो ?
अनलाइन व्यवसाय सुरु गर्ने कतिपयले कम्पनी नै दर्ता गर्दैनन् । कम्पनी दर्ता नगरेपछि व्यवसायकाे कर तिर्ने कुरा पनि अाएन । सजिलै डोमेन दर्ता गर्न र अनलाइन बनाउन सकिने हुँदा उनीहरू याे काइदाकाे पछि दगुरिरहेका छन् । तर, याे प्रवृत्तिले अन्तत :  क्षणीक रूपमा बजार धराशयी बनाउँछ भने भविष्यमा अाफ्नाे व्यापार पनि सिध्याउँछ ।

सरकारी निकायलाई छलेर गरिने यस्तो व्यवसाय र व्यवसायी जुनसुकै बेला समस्यामा पर्न सक्छन् । केही चलेका नेपाली ई–कमर्स साइटहरू यस्तै कारणले बन्द भएका छन् । न्यून बिजकीकरण भएर आएका सामान बिक्री गर्ने र भन्सार नतिरी सामान ल्याउने जस्ता कार्य गर्दा पनि यस्ता व्यवसायी फसेको देखिन्छ । यस्ता झन्झटमा नपर्नका लागि तपाईंले सबै सरकारी निकायमा दर्ता गरेर वैधानिक बाटोबाट व्यवसाय सुरु गर्नुपर्छ ।

के भन्छन् ई–कमर्स व्यवसायी ?

ई–कमर्स व्यवसायीको एसोसिएसन बनाउँदै छौं

अनिल बस्नेत
संस्थापक एवं सिइओ, मेट्रोतरकारी

हामीले मेट्रोतरकारी सुरु गरेको ५ वर्ष भइसकेको छ । २ वर्षयता हाम्रो ट्रान्जेक्सन शतप्रतिशतले बढेको छ । अहिले देशविदेश गरी दिनमै ६० भन्दा बढी अर्डर लिइरहेका छौं । हाल नेपालभित्रबाट ५० प्रतिशत र नेपालबाहिरबाट ५० प्रतिशत गरी अर्डर आउँछ ।

विदेशमा बस्ने नेपालीले स्वदेशमा रहेका परिवारका लागि हाम्रो स्टोरबाट ग्रोसरी आइटम अर्डर गर्ने गर्दछन् । हाम्रो कम्पनी अस्ट्रेलियामा पनि दर्ता छ र विदेशका बसेका नेपालीहरुले पेपाल, क्रेडिट कार्डको प्रयोग गरी पेमेन्ट गर्न सक्छन् । नेपालमा भने क्यास अन डेलिभरी नै चलेको छ ।

अनलाइनले गर्दा अहिले मार्केट नै चेन्ज भइसकेको छ । यसकै कारण टेक्नोलोजीहरु अपग्रेड गरिरहेका छौं । हामी एउटा स्टार्टअपबाट आएर विस्तारै स्केलअप गर्दै ठूलो टिम बनाउँदै छौं र बजारमा अहिले हाम्रो लगानी पनि सुरक्षित भइसकेको छ । नेपालमा बढेको ई–कमर्सलाई व्यवस्थित गर्न ई–कमर्स व्यवसायीको छातासंगठन बनाउने तयारीमा हामी लागिपरेका छौं । यसकाे अान्तरिक तयारी भइरहेकाे छ । चाँडै नै हामीले याे संगठन सुरू गर्ने गरी काम भइरहेकाे छ ।

 

खानाको पारखीका लागि फुडमान्डु

श्यामरत्न माली
ब्रान्ड म्यानेजर, फुडमान्डु

फुडमाण्डु ई–कमर्स व्यवसायमा फरक अवधारणाका साथ आएको हो । हाल हामीले काठमाडाैं र ललितपुरका १ सय ३० भन्दा बढी रेस्टुरेन्टहरुबाट घर तथा आफूलाई पायक पर्ने स्थानमा सीधै अर्डर गर्नका लागि सुविधा दिएका छौं ।

हालै हामीले फुडमान्डु नामक मोबाइल एपको नयाँ भर्सन पनि सार्वजनिक गरेका छौ । स्वस्थकर परिकार छिटो र भरपर्दो रुपमा ग्राहकसमक्ष पुर्याउनु फुडमान्डुको मुख्य उद्देश्य हो ।

फुडमान्डुको प्रयोग गरेर तपाईंले एउटै एपबाट आफूले चाहेको रेस्टुरेन्टका फुड आइटम घर वा आफू रहेको स्थानमा अर्डर गर्न सक्नुहुनेछ । यस एपमार्फत अर्डर गरेको ४५ मिनेटभित्र अर्डर डेलिभरी हुनेछ । फुडमान्डुको अप्डेटेड भर्सन प्रयोग गर्न अझ सजिलो र युजर फ्रेन्ड्ली रेहको छ ।

एपमा आफूले चाहेको परिकार र रेस्टुरेन्ट सर्च गर्नका लागि स्मार्ट सर्च इन्जिनको समावेश गरिएको छ, जसमा तपार्इंले परिकार, रेस्टुरेन्ट तथा ठाउँको नाम टाइप गरेर सर्च गर्न सक्नुहुनेछ ।

 

ई–कमर्सलाई उद्योगको पहिचान दिनुपर्छ

अमुन थापा
संस्थापक एवं सिइओ,
सस्तो डिल

सस्तोडिल एउटा अनलाइन मार्केटप्लेस हो । व्यपारी वा भेन्डरहरुलाई आफ्नो सामान बेच्न दिने ठाउँ हो यो । उनीहरु आफ्ना उपभोक्तासम्म अनलाइनबाटै सामान खरिद सक्नेछन् । हामीले हाल विश्वप्रसिद्ध ब्रान्डदेखि स्वदेशी ब्रान्डका प्रडक्टहरु सस्तोडिलमा राखेका छौं । काठमाडौंमा हाम्रो बलियो उपस्थिति छ । पोखरा, इटहरी, वीरगन्ज, विराटनगरमा पनि हाम्रो मार्केट विस्तार गर्दै छौं ।

ई–कमर्सका लागि अब नेपाली बजार तयार छ । ६६ प्रतिशत नेपालीको पहुँचमा इन्टरनेट पुगेको छ । उनीहरु इन्टरनेटबाटै सबथोक चाहिरहेका छन् । अर्कातिर व्यवसायी (भेन्डर) हरु पनि अहिले सस्तोडिल जस्ता ई–कमर्स प्लेटफर्ममा मार्केटप्लेस लिन चाहिरहेका छन् ।

पहिले भारत, चीनबाट सामान सप्लाई गरी बजारका पसलमा राख्थे । अहिले अधिकांश पसलले आफ्ना प्रडक्ट अनलाइनमा स्टोर गरिरहेका छन् । सोसल मिडियाहरुको प्रयोग पनि उत्तिकै बढिरहेको छ । विदेशमा निर्माता कम्पनीहरु आफैले अनलाइनमार्फत प्रडक्ट बेच्ने गर्छन् । यहाँ हाम्रो मार्केटप्लेसमा भर पर्छन् ।

नेपालमा र्इ-कमर्स व्यवसायलार्इ व्यवस्थित गर्न सर्वप्रथम यसलार्इ उद्याेगकाे पहिचान दिनुपर्छ । यसपछि मात्रै अन्य उद्याेगसरह यसले समान मान्यता पाउँछ । साथै याे क्षेत्रलार्इ नियमन गर्ने स्पस्ट कानूनी व्यवस्था नहुँदा दिनहुँ झमेला अाइपरेका छन् । यसर्थ बजार परिपक्व हुन याे क्षेत्रलार्इ हेर्ने नजरमै परिवर्तन

Check Also

गुगलले अब चाइनामा एआइ(आर्टिफिसियल इन्टेलिजेन्स ) सेन्टर खोल्ने  

गुगलले बुधबार  चिनको बेइजिंगमा आर्टिफिसियल इन्टेलिजेन्स सेन्टरको स्थापना गर्ने घोसणा गरेको छ । परिवर्तित टेक्नोलोजीमा …

नेपाली स्मार्टफोन बजारमा आइभुमी मोबाइल

विश्वको ७ भन्दा बढि देशहरुमा आफ्नो उपस्थिति जनाइसकेको चाइनिज मोबाइल कम्पनी आइभुमिले नेपालमा पनि आफ्नो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *