Home / Featured / भविष्यको आधार आइटी शिक्षा : कुन कोर्स पढ्ने ? कहाँ पढ्ने ?

भविष्यको आधार आइटी शिक्षा : कुन कोर्स पढ्ने ? कहाँ पढ्ने ?

हामी नेपालमा भविष्य नै छैन भन्दै विदेश दगुरिरहेका हुन्छौं । देश, नेता र यहाँको बेथिती सराप्दै मुग्लान छिर्नु धेरैको रहर नहोला तर, २१औं शताब्दी र विश्वले विज्ञानमा अद्भूत चमत्कार गरिरहँदा हामी नेपाली कहिलसेसम्म खाडीमा गुलामी बन्न गइरहने ? अनि राज्यले आफ्नो अस्तित्व कहिलेसम्म रेमिट्यान्सले धान्ने ? साँच्चिकै देशको मुहार फेर्नु छ र आधुनिक समयको सम्मानित जीवनशैली जिउनु छ भने राज्य र नागरिक दुवैले एकपटक सोच्नै पर्ने बेला आएको छ ।

उर्जा र पर्यटनमा अथाह सम्भावना छ भन्दै झ्याली पिटेको वर्षौ भइसक्यो । तैपनि देश र जनताको हाल ज्यूँको तहीँ छ । प्राथमिकतामा कहिल्यै माथि नराखिए पनि एउटा त्यस्तो क्षेत्र छ, जसले तीव्र रुपले नेपालमै रोजगारी मात्रै सिर्जना गरेको छैन, देश समृद्धिका लागि सम्भावना पनि कोरेको छ । आज हामी सूचना प्रविधि क्षेत्र र यस क्षेत्रको नेपालमा सम्भावना र अवसरको चर्चा गर्दै छौं ।

सूचना प्रविधिको क्षेत्र र त्यसका अवसरहरू ज्यादै ठूलो छ । हामीलाई थुप्रै करियरको ज्ञान छ र अहिले नयाँ उदाइरहेका करियरका बाटाबारे पनि हामीलाई केही चेतना छ । पढाइसँगै हामीले कुन क्षेत्र रुचाउँछौँ र त्यसलाई अँगाल्दा ठीक हुन्छ र नेपाल तथा विदेशमा पनि त्यस क्षेत्रमा लाग्दाको सम्भावना के–के हुन सक्छन् भन्नेबारे जान्नु जरुरी छ ।

नेपालमा पनि इन्टरनेको विकास र विस्स्तारसँगै रोजगारीका स्वरूपमा पनि धेरै नै बदलाव आउन थालेको छ । परिणामस्वरुप, परम्परागत जागिर क्रमश: हट्दै नयाँ प्रकारका जागिरको सुरुआत भइरहेको छ । यसै क्रममा आधुनिक सूचना प्रविधिको भरपूर उपयोग गर्दै नयाँ र प्रतिष्पर्धी रोजगारीका सिर्जना भइरहेका छन् । विद्यार्थीले जुनसुकै संकाय पढे पनि कतै न कतैबाट उनीहरू आइटी संस्थामा आबद्ध हुन पुग्दछन् ।

हामीले यस स्टोरीमा आफ्नो मेनस्ट्रिमभन्दा पनि फरक भएर करियरका रूपमा अगाडि आउनेलाई पनि समावेश गरेका छौँ । कुनै पनि व्यक्ति सफल हुन उसको पारिवारिक र शैक्षिक वातावरणको योगदानले पूरा हुँदैन । त्यसका लागि त उक्त व्यक्तिसँग धैर्य गर्न सक्ने क्षमता, प्रयोगात्मक ज्ञान, अनुकूल वातावरण र जोखिम मोल्न सक्ने क्षमता हुनु पनि त्यतिकै जरुरी हुन्छ ।

सूचना प्रविधिको क्षेत्र र त्यसका अवसरहरू ज्यादै ठूलो छ । हामीलाई थुप्रै करियरको ज्ञान छ र अहिले नयाँ उदाइरहेका करियरका बाटाबारे पनि हामीलाई केही चेतना छ । पढाइसँगै हामीले कुन क्षेत्र रुचाउँछौँ र त्यसलाई अँगाल्दा ठीक हुन्छ र नेपाल तथा विदेशमा पनि त्यस क्षेत्रमा लाग्दाको सम्भावना के–के हुन सक्छन् भन्नेबारे जान्नु जरुरी छ । तत्कालको अवस्थामा हेर्दा देशभित्रै र अन्तर्राष्ट्रियस्तरमा पनि सूचना प्रविधि अर्थात् आइटी क्षेत्रमा कर्मठशील जनशक्तिको खाँचो परिरहेको छ ।

पुल्चोक इन्जिनियरिङ संस्थानका प्रा.डा. सुवर्ण शाक्यका अनुसार आइटी मुख्यत: सफ्टवेयर र हार्डवेयरमा नै विभाजित भएको हुन्छ । यसभित्र थुप्रै सहायक फिल्ड रहेका छन्, जसमा राम्रो करियर बनाउन सकिन्छ ।

आइटी आफैमा वृहत् क्षेत्र हो । तर आइटी विकासको चरम उत्कर्षमा पुगेका देशहरुमा समेत माग अनुसारका जनशक्ति पाउन मुस्किल छ । भनिन्छ, आइटी क्षेत्रमा १० वटा काम बराबर एक व्यक्ति छन्। कामको मागअनुसार जनशक्ति अझै अपुग छ । एउटा व्यक्तिले आइटीका धेरै काम गर्नुपर्ने अवस्था छ ।

कुन कुन कोर्स छन् ?

त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका मुख्य आइटी कोर्सहरुमा बिएससी सिएसआइटी र बिआइएम हुन् । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत स्नातक तहमा कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर एप्लिकेसन (बिसिए), कम्प्युटर एप्लिकेसन (अनर्स) र बिआइटी रहेका छन् । काठमाडौं विश्वविद्यालयको मुख्य आइटी कार्यक्रमका रुपमा बिई (कम्प्युटर इन्जिनियरिङ) रहेको छ ।

त्यस्तै पोखरा विश्वविद्यालयको स्नातक तहका आइटी कोर्सहरुमा कम्प्युटर साइन्स, कम्प्युटर इन्जिनियरिङ, इन्जिनियरिङ इन इन्फर्मेसन टेक्नोलोजी, सफ्टवेयर इन्जिनियरिङ र कम्प्युटर एप्लिकेसन रहेका छन् । यसैगरी, काठमाडौंका ब्रिटिस कलेज, इस्लिङ्टन कलेज, सफ्टवेरिका कलेज, पोखराको इन्फरमेटिक्स कलेजलगायतले बेलायतसहितका विदेशी विश्वविद्यालयहरुका आइटी कार्यक्रम उपलब्ध गराउँदै आएका छन् ।

के मा छ आइटी करियर ?
आइटी आफैमा वृहत् क्षेत्र हो । तर आइटी विकासको चरम उत्कर्षमा पुगेका देशहरुमा समेत माग अनुसारका जनशक्ति पाउन मुस्किल छ । भनिन्छ, आइटी क्षेत्रमा १० वटा काम बराबर एक व्यक्ति छन्। कामको मागअनुसार जनशक्ति अझै अपुग छ । एउटा व्यक्तिले आइटीका धेरै काम गर्नुपर्ने अवस्था छ ।

हालका आइटी कम्पनीहरूले डिसिपिएलई अर्थात डिजाइन, ल्याङ्वेज, मार्केटिङ, स्टाटटिस्टिस एनालाइसिस र म्यानेजमेन्ट आदिसँग समन्वय गरेरअघि बढिरहेको हुनाले पनि आइटी कम्पनीहरूमा जागिर खानका लागि आइटी नै पढ्नुपर्छ भन्ने बाध्यता छैन । आइटी पढ्नेहरू सफ्टवेयर इन्जिनियरिङ मात्र नै बन्नुपर्छ भन्ने छैन । यसबाहेकका गेमिङ, इन्टरफेस डिजाइन आदिमा आबद्ध भएर पनि आफ्नो सीप र सिर्जनाबाट धेरै नै आर्जन गर्न सकिन्छ । आइटीका विद्यार्थी थुप्रै उद्योगमा काम पाउन सक्छन्, जस्तै– सफ्टवेयर उद्योग, आर्थिक संस्था, स्वास्थ्य, कर्पोरेट संस्थाहरू । केही चलेका करियर क्षेत्र आइटिका विद्यार्थीलाई राम्रा हुन्छन् तिनीहरूमध्ये केही तल उल्लेख गरिएको छ ।

सफ्टवेयर डेभलपमेन्ट र टेस्टिङ
करियर कास्टको सर्भेलाई आधार मान्ने हो भने अहिले विश्वबजारमा सबैभन्दा बढी माग भएको जागिर भनेको सफ्टवेयर डेभलपमेन्ट र टेस्टिङ हो । । सफ्टवेयर डेभलपरहरूले कुनै पनि प्लेटफर्म प्रयोग गर्न सक्छन्, जस्तै भी.बी. नेट, भिजुअल बेसिक (भि.बी.), जाभा, पिएचपी, डेल्फी, ओराकल, बिजनेस इन्टेलिजेनस आदि ।

अहिले सफ्टवेयर कम्पनी धेरै नै विकसित भइसकेका छन् । विश्वबजारमा सफ्टवेयर कम्पनीले धेरै नै ठूलो स्थान ओगट्न सफल भइरहेका छन् । नेपालमा पनि दर्जनौँ सफ्टवेयर कम्पनीले राम्रो काम गरिरहेका छन् । डियरवाल्क, डिटू हकाई, योमरी, एफवान सफ्टलगायतका सफ्टवेयर कम्पनीले सयौँ नेपाली जनशक्तिलाई राम्रो पारिश्रमिक दिएर काम गरिरहेका छन् । नेपालभित्रै बैंकिङ, फाइनान्स र शिक्षा क्षेत्रमा मर्कन्टाइल, इन्फो डेभलपर्स, मिदासलगायतका कम्पनीले काम गरिरहेका छन् । नेपालभित्रै रहेर करियर बनाउनेलाई यिलगायतका कम्पनीमा राम्रो प्लटफर्म हुनसक्छ ।

वेब डेभलपर र डिजाइनर
वेब डेभलपरको काम वेबसाइटहरू र वेब एप्लिकेसनहरूको विकास गर्नु हो । वेब डेभलपरले कुनै पनि प्रोग्रामिङ ल्याङ्वेज प्रयोग गर्न सक्छन् । जस्तै पिएचपी, एसएसपी नेट, एसएसपी, जेएसपी पेप्ल, रुविअन रेल्स आदि । नेपालमा पिएचपी र एएसपी डटनेटको ठूलो क्षेत्र छ । प्राय: सफ्टवेयर कम्पनीहरू पिएचपीलाई प्लेटफर्म ठान्दछन् । पिएचपी वेब डेभलोपरहरू खुला सफ्टवेयरहरूजस्तै जुम्ला वर्डप्रेस, डुपल म्यागेन्टोहरूमा विशेषज्ञ भएर ठूलो रकम आर्जन गर्न सक्दछन् । पिएचपी फ्रेमवर्क जस्तै जेन्ड, कोडेलनिटर, केक पिएचपीहरूको ज्ञान हुँदा राम्रो हुन्छ । नेपालका सफ्टवेयर कम्पनीहरूमा पिएचपी डेभलोपरहरूको ठूलो आवश्कता छ ।

वेब डिजाइनरको पेसा वेबसाइट डिजाइन गर्नु हो । वेब डिजाइनर बन्नका लागि फोटोसप/फायरफक्स एचटिएमएल, सिएसएस, जाभास्क्रिप्ट, सेक्युरिटीहरूको ज्ञान हुनुपर्दछ । वेब डिजाइनर सिर्जनशील नभइनकन आकर्षण वेबसाइटहरूको निर्माण हुन सक्दैन । नेपालमा अहिले धेरै युवा वेब डेभलपर र डिजाइनरमा संलग्न छन् । देशभर हेर्ने हो भने सयभन्दा बढी कम्पनीले वेब डेभलपमेन्टको सुविधा दिइरहेका छन् । घरघरमै बसेर आउटसोर्सिङ गर्नेहरू पनि धेरै छन् । वेब डेभलपमेन्ट र डिजाइनिङमा नेपालमा न्यूनतम १५ हजारदेखि ५० हजारसम्मको पारिश्रमिक पाइरहेको अवस्था छ ।

इन्टरफेस डिजाइन
स्मार्टफोन अहिले मानिसको अभिन्न अंग भइसकेको छ । अहिले स्मार्टफोनले एउटा डेक्सटपले गर्नेभन्दा बढी काम गर्न थालेको छ । टेक पण्डितहरूका अनुसार सन् २०१५ सम्ममा इन्टरनेट प्रयोग गर्नका लागि मोबाइलले पूर्ण रूपमा डेक्सटप र ल्यापटपलाई विस्थापित गर्नेछन् । त्यसैले गर्दा अब बन्ने वेबसाइटहरू मोबाइल वेबसाइट हुनुपर्छ । इन्टरफेस डिजाइनको मुख्य काम भनेको वेबसाइटको इन्टरफेस डिजाइन गर्ने हो । एउटा इन्टरफेस डिजाइनरले युजरको चाहानालाई हेरेर उनीहरूको आवश्यकताअनुसारको डिजाइन गर्नसक्नुपर्छ ।

एनिमेसन र क्युएफएक्स
विश्वबजारमा आर्थिक मन्दी हुँदा पनि कुनै असर नपरेको करियर हो एनिमेसन । त्यसैले गर्दा यो करियरमा युवाको झुकाब दिनप्रतिदिन बढिरहेको छ । विभिन्न धार्मिक तथा ऐतिहासिक चलचित्र र डकुमेन्टीहरू पनि एनिमेसनका आधारमा बनाइन्छन् । विभिन्न प्रकारका विज्ञापनहरूको डिजाइन गर्न होस् वा कार्टुन बनाउन त्यस्तै गरेर नयाँ प्रविधिका चलचित्रहरूमा पनि एनिमेसनको प्रयोग बढिरहेको छ । यसले गर्दा यसको क्षेत्र फराकिलो बन्दै गइरहेको छ । प्राय:जसो यस क्षेत्रमा आउने व्यक्तिहरूले दुईवटा कुरा भुल्नु हुँदैन, त्यो हो– समयको परिधि र पर्दापछाडि बसेर काम गर्नु ।

यदि तपाईंहरू यो फिल्डमा आफ्नो करियर बनाउने हो भने निम्न कुरामा ध्यान दिनुपर्दछ । सिर्जनात्मक शक्ति, नयाँ कुराहरू सिक्ने क्षमता, दबाब सहन सक्ने क्षमता, आत्मविश्वास र कलाप्रतिको झुकाब हुनुपर्दछ । नेपालमा एनिमेसनको राम्रो सम्भावना देखिएको छ । माया , ब्लाकबक्सलगायतका कम्पनीले अन्तर्राष्ट्रियस्तरमा समेत एनिमेसनको सेवा दिइरहेका छन् । ब्लाकबक्सले हडिउडसम्मको एनिमेसन गरिरहेको बताएको छ । विश्वमा नै थ्रिडी, गेमहरूको माग बढिरहेको छ, तसर्थ यस क्षेत्रमा काम गर्नसक्नेले राम्रो आम्दानी गर्न सक्छन् ।

मोबाइल एप्लिकेसन
मोबाइल एप्लिकेसन भन्नाले मोबाइलका लागि चाहिने सफ्टवेयर र विभिन्न एप्लिकेसन भन्ने बुझिन्छ । फोन बन्दा नै ती एप्लिकेसन सुरुमै आएका हुन्छन्, तर अहिले इन्टरनेटको प्रयोग बढ्न थालेपछि विभिन्न कम्पनीहरू एप्लिकसेन स्टोर बनाउन थालेका छन् । यो स्टोरमा युजरले आफूले बनाएको एप्लिकेसन अपलोड गर्न सक्दछन् । यो नि:शुल्क त हैन, तर धेरै महँगो पनि छैन । यसरी युजरहरूले आफ्नो क्षमताअनुसार एप्लिकेसन डेभलप गरेर राम्रो करियर बनाउन सक्दछन् ।

मोबाइल एप्लिकेसन विकास अहिलेको सबैभन्दा बढी माग गरिएको र द्रुत गतिमा बढिरहेको करियर क्षेत्र हो । जसरी मोबाइल डिभाइसहरू परिवर्तित हुँदै जान्छन् त्यसैगरी हामीले गर्ने व्यापार, कुराकानी र सूचनाको पहुँच पनि नयाँ–नयाँ आवश्यक पर्दै जान्छन् । अहिले नयाँ–नयाँ मोबाइल एप्लिकेसन डेभलपरको माग ठूलो छ ।
नेपालमा मोबाइल एप्लिकेसन डेभलपरको संख्या बढिरहेको छ । माइक्रोसफ्ट इनोभेसन सेन्टरले मोबाइल एप्लिकेसनका लागि ट्रेनिङहरू पनि सञ्चालन गरिरहेको छ । एनसेललगायतका कम्पनीले राष्ट्रियस्तरका एप क्याम्प सञ्चालन गरिरहेका छन् । करिब २ दर्जन कम्पनीले एन्ड्रोइड, आइओएस र विन्डोजका लागि मोबाइल एप्लिकेसन गरिरहेका छन् । तर, नेपालमा अझैँ पनि स्मार्टफोन सर्वसुलभ नभएको र बजार प्रवद्र्धनमा सरकारी र निजी क्षेत्रले खासै ध्यान नसकेको कारणले मोबाइल एप्लिकेसनको बजार धेरै माथि उक्सन सकेको छैन ।

गेमिङ
गेमिङ भन्नाले गेम खेल्ने र गेम बनाउने भन्ने बुझिन्छ । कुनै पनि गेम बनाउनका लागि युजरसँग C++ र जाभाका राम्रो ज्ञान हुनु जरुरी पर्दछ । त्यससँगसँगै धैर्यधारण गर्ने क्षमता हुनु पनि त्यतिकै जरुरी छ । यसमा करियर बनाउने हो भने युनिटजस्ता इन्टरनेटमा नि:शुल्क पाइने गेम इन्जिन डिजाइनर जस्ता सफ्टवेयरबाट सुरु गर्दा राम्रो हुन्छ । यदि तपाईंले गेम खेल्ने हो भने लोकल एजेन्टको सहयोग लिँदा सजिलो हुन्छ । अहिले इन्टरनेटको सहयोगमा अनलाइन गेम प्रतियोगिता हुन थालेका छन् । एनगेमर्सले ४ वर्षदेखि देशकै ठूलो गेमिङ प्रतिष्पर्धा गरिरहेको छ ।
गेम खेल्नका लागि नेपाल पूर्णत: आउटसोर्सिङमा निर्भर भएको देखिन्छ । अहिलेको प्रमुख समस्या भनेको लोकल एजेन्टको उपस्थिति नहुनु हो । विदेशमा भएका कम्पनीले पनि धेरै विचार गरेर मात्र नेपालमा आउटसोर्सिङ गर्ने हुनाल इन्थुसिएस्टिक मात्र भएर हुँदैन यसका लागि धेरे नै खोज, अनुसन्धान गरेर अगाडि बढ्नुपर्दछ । त्यसैले सुरुमा स्व:अध्यनबाट प्रयास गर्दै जाने र पछाडि कुनै इन्स्टिच्युटको सहयोगमा एड्भान्स कोर्ष गरेर यसमा करियर बनाउँदा राम्रो हुन्छ ।

सिस्टम एडमिनिस्ट्रेटर
सिस्टम एडमिनिस्ट्रेटर भन्नाले एउटा संस्थाको आइटीका स्रोत र सामग्रीहरूको व्यवस्थापन जिम्मा लिने व्यक्ति हो । एउटा संस्थालाई सर्भर पिसी नेटवर्क, इन्टरनेट, ब्याकअप, सेक्युरिटी मिलाउने र जाँच गर्ने मान्छे चाहिन्छ । सिस्टम एडमिनिस्ट्रेटरहरूलाई आइएसपी, एनजिओ, आइएनजिओ, सफ्टवेयर कम्पनी स्कुल र कलेजमा ठूलो अवसर छ । सिस्टम प्रशासक बन्न , सिसिएमए, सिसिएमपी, एससिएसए, एमसिएसए, एमसिएसईजस्ता शैक्षिक कोर्षहरू पढ्न सकिन्छ ।

सिस्टम एनालाइसिस्ट
सिस्टम एनालाइसिस्ट एउटा सिस्टमको सम्पूर्ण अध्ययन कार्यका लागि जिम्मेवारी हुन्छ । उनीहरूले सफ्टवेयरको विस्तृत विवरण तयार पार्दछन् । सिस्टम विश्लेषकले समस्या पत्ता लगाउने, समाधान खोज्ने, सफ्टवेयर र सिस्टम रिकभर गर्ने जस्ता काम गर्नुपर्छ र विकासलाई व्यापारसँग संयोजन गर्नुपर्ने हुन्छ । उनीहरूले प्रोग्रामरहरूलाई सफ्टवेयरको विकासमा पनि सहयोग गर्दछन् । नेपालका सफ्टवेयर कम्पनीहरूमा यस्ता दक्ष जनशक्तिको माग प्रतिदिन बढिरहको छ ।

प्रोजेक्ट वा योजना व्यवस्थापक
दिइएको प्रोजेक्ट अथवा योजनाहरू व्यवस्थापन गर्नु योजना व्यवस्थापकको काम हो । आफ्ना क्लाइन्टसँग सञ्चारसम्बन्धी योजना समन्व्य गर्नु र व्यवस्थापक टिमलाई मिलाउनु, टिमका सदस्यहरूसँग योजनाका काम बाँड्नु र योजनाको प्रगतिको लेखाजोखा गर्नु योजना व्यवस्थापकको काम हो ।

एसइओ/एसएमएम विशेषज्ञ
आइटी पढेकाहरू सर्च इन्जिन अप्टिमाइजेसन र सोसल मिडिया मार्केटिङको विशेषज्ञको काम पनि गर्न सक्छन् । उनीहरूसँग प्रशस्त सीपको ज्ञान आवश्यक पर्छ अनलाइन बिजनेस र मार्केटिङका लागि, सर्च इन्जिनमा तिनीहरूलाई सर्च सिजल्टमा लिस्ट बनाएर । उनीहरूले सोसल मिडिया र नेटवर्किङ टुलहरू जस्तै यू–ट्युब, ट्विटर, लिंकइन, फेसबुक आदि प्रयोग गर्न सक्दछन् । कुनै पनि उत्पादनलाई इन्टरनेटमा विज्ञापन गर्नका लागि आजभोलि एसइओ विशेषज्ञको विश्वभरि नै माग बढिरहेको छ ।

डाटाबेस डेभलपर 
डाटाबेस डेभलपर हुन डाटाबेस डिजाइन, एसक्युएलको राम्रो ज्ञान हुनुपर्दछ किनभने यिनीहरूले सफ्टवेयर, वेबसाइट र वेब एप्लिकेसन बनाउन मद्दत गर्दछ । चलेका डाटाबेस सिस्टममा माएसक्युएल, ओराकल, एमएमएसक्युएल जस्ता डाटाबेस रहेका छन् । डाटाबेसमा काम गर्नका लागि यी प्रोग्राममा पोख्त हुनुपर्ने हुन्छ । नेपालमा डाटाबेस डेभलपरको पनि राम्रो माग भइरहेको छ । डिटू हकाईलगायतका कम्पनीहरूले पनि डाटाबेस डेभलपरको धेरै भ्याकेन्सी प्रकाशन गरिरहेको हुन्छ । नेपालमा डाटा सेन्टर, डाटा वेयरहाउस, डाटा माइनिङको काम अगाडि बढ्ने हो भने यो ठूलो सम्भावनाको क्षेत्र हुनेछ ।

क्यू ए (क्वालिटी एस्युरेन्स) 
क्वालिटी एस्युरेन्स अफिसहरू सफ्टवेयर र वेब एप्लिकेसनको क्वालिटी ठीक छ छैन भन्ने काम गर्छन् र उनीहरूको मुख्य काम भनेको नै ती सफ्टवेयर क्वालिटीमा ठीक छन् भन्ने विश्वास दिलाउनु हो । नेपालमा क्यु एको काम केही ठूला कम्पनीले मात्र गरिरहेका छन् ।

टेक्निकल लेखक
सफ्टवेयर र वेब एप्लिकेसनको डकुमेन्टेसन गर्नु र युजन म्यानुल बनाउनु टेक्निकल लेखकको जिम्मेवारी हो ।

अरू थुप्रै करियर छन् आइटी विद्यार्थीका लागि, जस्तै ग्राफिक्स डिजाइनर, सिस्टम प्रशासक, सिस्टम इन्जिनियर, डाटाबेस प्रशाशक, नेटवर्क इन्जिनियर, एनिमेटर, इथिकल ह्याकर, नेटवर्क सेक्युरिटी विशेषज्ञ, हार्डवेयर इन्जिनियर र अन्य थुप्रै । आजभोलि थप नयाँ किसिमका करियरहरू बढिरहेका छन् जहाँ सीमारहित अवसर छन् । नेपालमै बसेर केही लेखकले अन्तर्राष्ट्रियस्तरका वेबसाइटहरूमा लेखहरू लेखिरहेका छन् । यो क्षेत्र नेपालमा त्यति धेरै अघि बढी नसकेको भए पनि सम्भावना राम्रो छ ।

सोसल मिडिया म्यानेजमेन्ट
सोसल मिडिया म्यानेजमेन्ट भन्नाले सबैसँग जोड्ने र सूचनालाई एकैठाउँबाट आदानप्रदान गर्ने हो । नेपालमा यसको त्यति बढी प्रयोग भएको नदेखिए पनि विस्तारै नयाँ–नयाँ कम्पनीले सोसल मिडिया पोलिसीअन्तर्गत सोसल मिडिया म्यानेजमेन्टमा दक्ष जनशक्तिको नियुक्त गर्ने गरेका छन् । यसमा करियर बनाउनका लागि म्यानेजमेन्ट संकाय पढेको व्यक्ति योग्य ठहरिन्छ । यसमा सोसल मिडियाको सही सदुपयोग अनलाइन मार्केटिङ, जिमेल मार्केटिङ गर्नु हो । क्लाउड कम्प्युटिङलगायत अन्य नेपालका ठूला कम्पनीहरूले सोसियल मिडिया म्यानेजमेन्टलाई स्पेस दिन थालेका छन् ।

के कुरामा ध्यान दिने ?

  • सम्बन्धित विषयमा राम्रो ज्ञान हुनुपर्‍यो ।
  • यसप्रति प्यासन भएको व्यक्ति हुनुपर्‍यो ।
  • टिममा (समूहमा) बसेर काम गर्ने सक्ने क्षमता हुनुपर्‍यो ।
  • सिर्जनशील शक्ति हुनुपर्‍यो ।
  • किताबबाहिरको कुरा सोच्ने शक्ति हुनुपर्‍यो ।
  • कलात्मक ज्ञान हुनुपर्‍यो ।
  • हार्दा पनि हरेस नखाने हुनुपर्‍यो ।

कहाँ छ स्कोप ?
विज्ञहरूसँगको कुराकानीका आधारमा हेर्ने हो भने नेपालमा सफ्टवेयरको ठूलो बजार छ । विश्वबजारमा सजिलै निर्यात गर्न सकिने भएकाले पनि यसको स्कोप बढी छ । आउटसोर्सिङ गर्ने कम्पनीको लामै सूची छ यहाँ । मोबाइल एप्लिकेसन डेभलपर र नेटवर्क एडमिनिस्ट्रेटरको माग बढेर गएको छ । नेपालमा सरकारी क्षेत्रले आइटीको पूरा उपयोग गर्ने हो भने यसको माग झन बढ्नेछ । नेपालमा दक्ष जनशक्तिको अहिले पनि अभाव छ ।

नेपालमा वेबसाइट डेभलपमेन्टको ठूलो स्कोप छ । जसलाई घरमै एउटा कम्प्युटरबाट काम सुरु गर्न सकिन्छ । आउटसोर्सिङको सम्भावना ज्यादा छ । सफ्टवेयर निर्माणमा नेपालमा रहेका डिटूहकाई, डियरवाल्कले ठूलो सम्भावना देखाएका छन् । डियरवाल्कले त केही वर्षमा नै एक हजार इन्जिनियरलाई जागिर दिने बताएको छ । त्यसैगरी इन्टरनेट र मोबाइल सर्भिस प्रोभाइडरमा आइटीको स्कोप ज्यादा छ ।

एनटिसी, एनसेल, वल्डलिंक, सुबिसु, ब्रोडलिंक जस्ता कम्पनीले धेरैलाई रोजगार दिएको छ । त्यसैगरी कल सेन्टरमा पनि हजारौँले रोजगार पाएका छन् । बैंकिङ क्षेत्रमा पनि आइटी विज्ञको माग बढ्न थालेको छ । इन्टरनेट र नेटवर्क सेक्युरिटीमा विश्वमै डिमान्ड बढ्न थालेको छ । ह्याकर्सहरूले वेबसाइट तथा सफ्टवेयर नै ह्याक गर्ने कारणले सेक्युरिटीको डिमान्ड बढिरहेको छ । नेपालको सरकारी क्षेत्रमा समेत पहिलेको भन्दा धेरै आइटी प्राविधिकको माग हुन थालेको छ । लोकसेवा आयोगले पनि कम्प्युटर इन्जिनियर तथा आइटीको माग गर्न थालेको छ ।

यसरी हरेक क्षेत्रमा आइटीको माग बढिरहेको छ । आइटी विज्ञ प्रा.डा. सुवर्ण शाक्य भन्नुहुन्छ, ‘आइटीमा प्रोग्रामर मात्र हुने कि मेनेजर हुने, अब आफैँ नै केही गर्ने समय हो यो त्यसैले आइटीमा जागिरका लागि अरूको कम्पनी धाइरहनु जरुरी छैन, आफैँ मेनेजर र मालिक बन्न सकिन्छ । जसरी बिल गेट्स, स्टिभ जब्स, मार्क जुकरबर्ग बने ।’

कस्तो कलेज छान्ने ?
आइटी शिक्षा अध्ययन गर्न नेपाली विश्वविद्यालयदेखि विदेशी विश्वविद्यालयका आइटी कार्यक्रम छन् । यस्ता आइटी कार्यक्रम सरकारी क्याम्पस तथा निजी कलेजले पढाउँदै आएका छन् । तर कलेज छान्दा मुख्य यी कुरामा ध्यान दिन जरुरी छ :

  • सम्बन्धन तथा एक्रिडिटेसन
  • सुविधा तथा एकेडेमिक सपोर्ट
  • इन्टर्नसिप तथा प्रोफेसनल ट्रेनिङ
  • आइटी इन्डस्ट्रीसँगको टाइअप तथा जब प्लेसमेन्ट
  • अध्ययन खर्च
  • ल्याब र प्रविधिको प्रयोग
  • रिजल्ट र पर्फमेन्स
  • आइटी करिअर र स्कोप

प्रस्तुति : शिव बस्नेत

Check Also

वल्र्डलिंकले ल्यायो इन्टरनेट रिफर गर्नेलाई स्मार्टफोन र निशुल्क टिभी हेर्ने अफर

लामो समयदेखि इन्टरनेट पारखीहरुको मन जित्न सफल वल्र्डलिंकले आफ्ना ग्राहकहरुकालागि थप आकर्षक अफरका साथ एककान …

सामसुङ गियर एस ३ फ्रन्टायर नेपालमा  

केहि महिना यता सामसुंगले नयाँ गियर एस ३ फ्रन्टायर स्मार्टवाच नेपालमा ल्याएको छ । ४६ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *