सोमबार, ९ असार, २०७६
Monday, 24 June, 2019

स्मार्ट सिटीका लागि यी महत्वपूर्ण ५ आधार

स्मार्ट सिटीको उद्देश्य जीवनस्तरको विकास तथा डिजिटल प्रविधिको उपयोग गरेर आर्थिक लाभहरुको सिर्जना गर्नु हो । अबको तीन दशकपछि सात बिलियन मानिसहरु सहरी क्षेत्रमा बसोबास गर्ने अनुमान गरिएको छ । स्मार्ट सिटी हुनका लागि विशेष मापदण्डहरु नभए तापनि सहर प्रविधियुक्त हुन् जरुरी हुन्छ । उक्त सहरको अर्थतन्त्र, प्रशाशन, यातायात, वातावरण र नागरिक पनि स्मार्ट र प्रविधिमय हुनुपर्छ ।

स्मार्ट सिटीमा सूचना तथा सञ्चार प्रविधिलाई अपनाएका स्मार्ट उद्योग र कल कारखानाहरु स्थापना गरिएको हुन्छ । साथै वातावरणमैत्री सहर हुनुपर्छ, नागरिकको जीवनशैली र चेतना उच्च स्तरको हुन जरुरी छ । यसकारण हामीले आफ्नो सहरलाई अझ राम्रो बनाउन प्रविधिको प्रयोग गरी हरिया तथा व्यवस्थित संसाधन लागु गर्न जरुरी छ । स्मार्ट सिटी निर्माण गर्नका लागि आवश्यक तत् हरुबारे  तल उल्लेख गरिएको छ ।

१. स्मार्ट अर्थतन्त्र:
स्मार्ट अर्थतन्त्रको अवधारणा वैज्ञानिक र विभिन्न रणनीतिक दस्तावेजहरुमा अधिक लोकप्रिय छ । यसको अवधारणा स्मार्ट सिटी डिजाइन र विकासमा र सहरको आर्थिक विकास तथा रणनीतिक योजना बनाउन व्यापक प्रयोग गरिन्छ । अहिले सम्म स्मार्ट अर्थतन्त्रको सबैले स्वीकार गर्ने परिभाषा नै छैन । तर, हामीले अर्थतन्त्र र स्मार्ट सहरको बीचको अन्तर नै स्मार्ट अर्थतन्त्र हो भनेर बुझ्न सक्छाैं ।  स्मार्ट अर्थतन्त्र परम्परागत अर्थव्यवस्थाभन्दा फरकफरक हुन्छ । किनकि स्मार्ट सिटीका लागि उद्योग र कलकारखानाहरुको स्थापनामा सूचना तथा प्रविधिको भरपुर प्रयोग गरिएको हुन्छ । 

स्मार्ट सिटी निर्माणका लागि स्मार्ट अर्थतन्त्रले एकदम ठूलो महत्व राख्छ । स्मार्ट सिटीका लागि अर्थ व्यवस्थालाई डिजिटल बनाउने क्रम भुक्तानीबाट सुरु हुन्छ । जस्तै बिटक्वाइन, मोबाइल पेमेन्ट र ई वालेट आदि यसका उदाहरण हुन् । स्मार्ट अर्थतन्त्रमा वस्तुहरु उत्पादन गर्ने तथा बिक्रीवितरण गर्ने तरिकामा पनि फरक हुन्छ । यसमा प्रविधिको प्रयोग गरेर उच्च गुणस्तरीय वस्तु उत्पादन गरिन्छ । सूचना तथा सञ्चार प्रविधिले ग्राहकको सामानसँगको अन्तक्र्रिया परिवर्तन गर्दछ  । अर्थात्, क्युआर कोड प्रविधिको प्रयोग गरी सेलफोनबाट सामान स्क्यान गर्न सकिन्छ ।

साथै Near Field Communication (NFC) एन एफसी टेक्नोलोजी जसमा स्मार्टफोन बाट पेमेन्ट गर्न सकिन्छ । स्मार्ट अर्थतन्त्रमा डिजिटल प्रविधिबाट सरल र सहज सेवाहरु नागरिकलाई प्रदान गरिन्छ । यसका साथै नागरिकहरुमा समेत उद्यमशीलताको भावना तथा केही नयाँ गर्ने सोचलाई समेत स्मार्ट अर्थतन्त्रले उत्साह प्रदान गर्दछ ।  
  
२. स्मार्ट प्रशासन:
इन्टरनेट तथा डिजिटल टेक्नोलोजीले प्रगतिशील सरकारको निर्माण गर्दछ । सरकारी संस्थाहरुलाई सुदृढ पार्दछ र साथै समाजका सबै भागहरु एकीकृत गर्दछ । सूचना तथा सञ्चार प्रविधि मानव जीवन शैलीको अभिन्न भाग बनिसकेको अवस्था छ । इन्टरनेट र डिजिटल टेक्नोलोजीबिना आधुनिक जीवनशैली कल्पना गर्न पनि सकिँदैन । ढुवानी, दूरसञ्चार, स्वास्थ्य सेवा, सुरक्षा तथा शिक्षालगायतका सम्पूर्ण क्षेत्रहरु आइसिटीमा निर्भर छन् । 

समाजका यी क्षेत्रहरुलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्नका लागि स्मार्ट शासन र प्रशासनको आवश्यकता पर्छ । यी प्रणालीहरुको उचित व्यवस्थापनपश्चात् मात्रै सरकारले पूरै समाजलाई प्रभावकारी हुने गरिको नीतिनियम लागू गर्न सक्छ । फरक डिपार्टमेन्ट, एजेन्सी तथा सेक्टरहरुबाट सही समयमा सही डाटाहरु, सूचना तथा नयाँ विकासका कार्यक्रमहरु लागू गर्न नेताहरु तथा सरकारी अधिकारिहरुलाई स्मार्ट सिस्टम तथा टुलको आवश्यकता पर्दछ ।

पारदर्शी प्रशासन, निर्णय प्रक्रियामा जनसहभागिता, छिटो र प्रभावकारी सार्वजनिक सेवाको प्रवाह आदिले स्मार्ट सिटी निर्माणमा महङ्खवपूर्ण भूमिका खेल्दछन् । सहरमा क्रियाशील राजनीतिक दल र सामाजिक संघसंस्थाका ठीक नीति र स्पष्ट दूरदृष्टि पनि स्मार्ट सिटी निर्माणका एकाइ हुन् ।

३. स्मार्ट यातायात सेवाः
स्मार्ट यातायात व्यवस्था यस्तो प्रणाली हो, जहाँ सहरमा यातायातको प्रवाह नियमित गर्न केन्द्रीय रुपमा ट्राफिक सिग्नल तथा सेन्सर नियन्त्रण गरिन्छ । वास्तविक समयको मागअनुसार यातायात ट्राफिक प्रवाह सरल बनाएर भीड कम गर्ने काम स्मार्ट यातायात सेवाअन्तर्गत पर्छ । प्रदूषण घटाउनु, जक्सननजिक बसहरुलाई प्राथमिकता दिनु तथा यातायात प्रवाहका लागि लाइटहरुको व्यवस्थासमेत स्मार्ट यातायात सेवाअन्तर्गत पर्दछ । 

यिनै कुराहरुको राम्रो व्यवस्थापन हुन सकेमा स्मार्ट सिटी निर्माण गर्न सकिन्छ । स्मार्ट यातायात सेवाले सहरवासीहरुलाई सस्तो, छिटो, सुरक्षित, र भरपर्दो सवारीसाधनको छनोट गरेर यात्रा गर्ने सुविधा प्रदान गर्दछ । सहरका सडक सञ्जाल र सवारी साधनहरुमा सेन्सर, जीपीएस र अन्य स्वचालित यन्त्रहरु जडान गरेर विभिन्न सूचनाहरु संकलन गरिन्छ र यात्रालाई अधिकतम सहज बनाउने प्रयास गरिन्छ । साथै सहरमा सुरक्षित साइकल लेन र पैदल यात्रुहरुलाई यथेष्ट फुटपाथको व्यवस्था गरिेएको हुन्छ ।

४. स्मार्ट नागरिक:
टेक्नोलोजीसँग यस्तो शक्ति हुन्छ, जसले नागरिकको आवश्यकताप्रति अधिक उत्तरदायी समुदायको सिर्जना गर्दछ । र, नागरिकको जीवनको गुणस्तर बढाउन सक्छ । स्मार्ट सिटीका धेरै योजनाहरु टेक्नोलोजीको आधारमा तयार गरिन्छ । स्मार्ट सिटीका बारेमा कुरा गर्दा मानिसका आवश्यकताबारेमा अनदेखा गरिन्छ र टेक्नोलोजीलाई विशेष प्राथमिकतामा राख्ने गरिन्छ । तर सबैभन्दा पहिले स्मार्ट सिटीको निर्माणका लागि नागरिकको आवश्यकता तथा चुनौतीको बारेमा बुझ्नु जरुरी हुन्छ । 

स्मार्ट सिटी निर्माणमा सहरका नागरिकहरुको शैक्षिक योग्यता एक महत्वपूर्ण अङ्ग हो । शैक्षिक योग्यताका साथै नागरिकहरुको सामाजिक सेवामा सहभागिता, सिर्जनशीलता, सोच, परिवर्तनलाई स्वीकार गर्न सक्ने जस्ता गुणहरुले सहर कति स्मार्ट छ भन्ने मापनमा सहयोग पुर्याउँछ । स्मार्ट सिटिजन स्मार्ट सिटीका लागि प्रोजेक्ट हो । जसले सहर, नागरिक, समुदाय तथा अनुसन्धानकर्ताहरुलाई सहरको वातावरणका समस्याहरु जस्तै: ध्वनि तथा वायु प्रदूषण र लाइटलगायतका समस्याहरु समाधानका लागि संलग्न गर्न खोज्छ ।  

५. स्मार्ट वातावरणः 
स्मार्ट सिटी निर्माणका लागि वातावरण पनि मुख्य विषय हो । वातावरणमा भइरहेको परिवर्तनले सहर तथा सहरवासीहरु लाई असर पु¥याइरहेको हुन्छ । यसले गर्दा सिटी प्लानरहरुलाई थप चुनौती प्रदान गरिरहेको हुन्छ । सहरवासीको स्वस्थ जीवनका लागि पानी तथा हावाको शुद्दिकरण र ध्वनि प्रदष्ूाणको नियन्त्रणका लागि थप चुनौतीहरु आइपर्छन् । यसका साथै बाढीपहिरो तथा हिमपातलगायतका समस्यालाई पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ । 

स्मार्ट सिटीमा यस्ता समस्याको समाधान गरी स्मार्ट वातावरण निर्माणका लागि धेरै प्रकारका स्मार्ट डिभाइसहरुले लगातार काम गरिरहेका हुन्छन । स्मार्ट वातावरणको मुख्य उद्देश्य सहरवासीहरुलाई वाताबरणबाट सन्तुष्ट बनाउनु हो । स्मार्ट वातावरण निर्माणका लागि  प्रदूषणलाई कम र पर्यावरण संरक्षण गर्नको निम्ति उचित नीति र योजना आवश्यक हुन्छ । प्राकृतिक सम्पदाको संरक्षण र ऊर्जा र अन्य स्रोतहरुको दिगो व्यवस्थापन गरिनुपर्दछ ।

कार्बन कम उत्सर्जन गर्ने सौर्य ऊर्जा, हावाबाट उत्पादित ऊर्जा, बायोग्यासजस्ता हरित ऊर्जाहरुको उत्पादन र प्रभावकारी वितरण गरिनुपर्दछ । त्यसैले स्मार्ट वातावरण निर्माणका लागि विभिन्न प्रकारका टेक्नोलोजी वायरलेस कम्युनिकेसन, कम्युटर नेटवर्किङ अपरेटिङ सिस्टम आदिको प्रयोग गरिएको हुन्छ । 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा