मंगलबार, ३ असार, २०७६
Tuesday, 18 June, 2019

नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स : अवसर र सम्भावना

संसारमा सबैभन्दा बढी विवेकी प्राणी को होला ? धेरैको स्वाभाविक उत्तर ‘मानिस’ नै हुने गर्छ । हुन पनि मानिसको दिमाग यति तीक्ष्ण छ कि, कल्पनै गर्न नसकिएका आविष्कार सम्भव गराइदिएको छ । यतिसम्म कि अब आफ्नोभन्दा चतुर दिमाग भएका रोबोटहरु बनाउनु यो जमानामा अचम्म रहेन । आममानिसले जस्तै व्यवहार र प्रतिक्रिया गर्ने बौद्धिक मेसिनहरुको संसारभर प्रयोग भइरहेको छ । यस्ता मेसिनलाई ‘नयाँ पुस्ताका मानिस’ पनि भन्ने गरिन्छ । 

आज माइक्रोसफ्ट, गुगल, फेसबुक, एप्पल, आइबिएमजस्ता प्रविधिका हस्तीहरु आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट आश्चर्यजनक छलाङ मार्न सफल भएका छन् । तपाईंले ड्राइभरबिनाको कारको समाचार त पक्कै सुन्नुभएको छ होला, अब पाइलटबिनै जहाज उड्ने प्रविधिको विकाससमेत भइसकेको छ । यी सबै उपलब्धि सूचना प्रविधि र कम्प्युटर विज्ञानको पछिल्लो चमत्कार आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङका कारण सम्भव भएका हुन् । 

नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स

अहिलेका अधिकांश ठूला प्रविधि कम्पनीको ध्यान आर्टिफिसियल इन्टेलिजेन्सको अनुसन्धान र प्रडक्ट विकासमा छ । उनीहरुले दिनदिनै मेसिन लर्निङ, डिप लर्निङलगायतमा नयाँनया“ प्रयोग गरिरहेका छन् । विश्वव्यापी जल्दोबल्दो विषय बनेको डिजिटल भविष्य आर्टिफिसियल इन्टेलिजेन्सबाट नेपाल पनि अछुतो रहने कुरा आएन । नेपालमा यसको प्रयोग र विकास कसरी भइरहेको छ त ? काठमाडौं विश्वविद्यालय (केयू)का एसिस्टेन्ट प्रोफेसर बालकुमार बल भन्छन्, ‘यहाँ पनि चासो बढेको छ । अनुसन्धान र प्रडक्ट डेभलपमेन्टका लागि केही विश्वविद्यालय र निजी कम्पनी अघि सरेका छन् ।’

विकसित देशको तुलनामा यहाँ पर्याप्त रिसर्च नहुनुका साथै आवश्यक एआई जनशक्तिको पनि अभाव रहेको उनी बताउँछन् । उनले केयूको इन्फर्मेसन एन्ड ल्याङ्ग्वेज प्रोसेसिङ ल्याबबाट नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङमा लामो समयदेखि रिसर्च र प्रडक्ट डेभलपमेन्टको काम भइरहेको जानकारी दिए । ‘हामीले एप्लाइड आउटपट आओस् र नेपालीहरुको लाइफस्टाइल चेन्ज होस् भनेर पछिल्लो समय आउटपुट ओरियन्टेड रिसर्चको काम गरिरहेका छौं,’ उनले भने । सो ल्याबले हालसम्म करिब दर्जन प्रोजेक्टहरु सम्पन्न गरिसकेको जानकारी उनले दिए । 

‘अहिले नेपालमा पनि डिप लर्निङ, मेसिन लर्निङको चार्म बढिरहेको छ । विद्यार्थी, कम्पनी र विश्वविद्यालयस्तरबाट पनि यसमा चासो बढिरहेको छ । साथै एआईसम्बन्धी धेरै कम्युनिटीहरु आएका छन् । यसले पनि राम्रो सम्भावना भएको देखाउँछ,’ केइआइभी टेक्नोलोजिजका सहसंस्थापक सन्तोष रेग्मीले भने । स्पिच र टेक्स्टमा डिप लर्निङ रिसर्च आफूहरुले गरिरहेको जानकारी दिँदै उनले अप्टिकल क्यारेक्टर रिकग्निस (ओसिआर)मा डिप लर्निङ र मेसिन लर्निङमार्फत काम भइरहेको बताए । 

बजारमा कस्ता एआई प्रडक्ट निर्माण भएका छन् ?
केयूको इन्फर्मेसन एन्ड ल्याङ्ग्वेज प्रोसेसिङ ल्याबबाट हालसम्म करिब दर्जन प्रोजेक्टहरु भएको देखिन्छ । यसअन्तर्गत नेपाली लिनक्स, दोभाषे, ई–गभर्नेन्स एन्ड ट्रस्ट इस्यू, ओपिनियन माइनिङ, नेपाली ओसिआर, नेपाली टेक्स्ट टु स्पिचलगायतका छन् । ‘यो ल्याबले सफ्टवेयर लोकलाइजेसन र नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङमा १३ वर्षदेखि अनुसन्धान गरिरहेको छ । हाल मेसिन लर्निङ र डिप लर्निङमा आधारित भई डाटा साइन्स र डाटा एनालाइटिक्समा अनुसन्धान गर्न जोड दिइरहेका छौं,’ उनले भने । 

नेपालमा पहिलो सफ्टवेयर रोबोट भने डा. समीरराज मास्केले बनाएका हुन् । चौबीसै घन्टा उपभोक्ताका प्रश्नको उत्तर दिने यो सफ्टवेयर रोबोट (च्याटबट्स)लाई ई–कमर्स, ट्रेकिङ, एअरलाइन्स, होटेल, अस्पताल, टेलिकम्युनिकेसन र सरकारी काममा प्रयोग गर्न सकिन्छ । जुन रोबोट अमेरिकाको न्यूयोर्क राज्यले समेत प्रयोग गरिरहेको छ । उनले तत्कालीन रोनास्टमा नेपाली स्पिच सिन्थेजाइसेन (नेपाली टु इङ्लिस) रिकग्निसको प्राजेक्ट नै देखाएका थिए । 

उनले नै स्थापना गरेको अमेरिकाबेस्ड एआई कम्पनी फ्युजमेसिनले नेपालमा पनि एआईको पायोनियर दाबी गर्दछ । नेपाली प्रडक्टमा समेत काम थालेको फ्युज मेसिनले गतवर्षदेखि सफ्टवेयर इन्जिनियरलाई लक्षित गरी एआई फेलोसिप कार्यक्रम ल्याएको छ । नेपालका ठूला उद्योगहरुलाई लक्षित गर्र्दै एआई प्रडक्ट विकास गर्ने योजना उसले ल्याएको छ । 
उसले नेपाली कम्पनीहरुका लागि एक्सपर्ट कन्सल्टेन्टको काम (विशेषज्ञ सेवा) पनि दिने जनाएको छ । फ्युजमेसिनले ड्रोन र कम्प्युटर भिजनमा रिसर्च प्रोजेक्ट सञ्चालन गरिरहेको छ । उसले नेपाली भाषामा स्पिच सिन्थोइजेसनमा पनि रिसर्च गरिरहेको छ । ‘यो नेपाली बोल्ने र त्यसको अनुवाद अंग्रेजीमा गर्ने रिसर्च हो ।

पछिल्लो पटक चर्चा कमाएको कम्पनीको नाम हो, पाइला टेक्नोलोजी । पाइलाले आर्टिफिसियल इन्टेलिजेन्सलाई रोबोटमा उतार्दै मानिस र समाजलाई उपयोगी हुने प्रडक्ट निर्माणमा जुटेको छ । उसले पछिल्लो पटक बनाएको परी नामकको रोबोट निकै लोकप्रियसमेत भएको छ । यता नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङमा मास्टर्स गरेका केही विद्यार्थीको समूहले केइआइभी टेक्नोलोजिजमार्फत ल्याङ्ग्वेज र मसिन लर्निङ प्रोेजेक्टमा काम गरिरहेको छ ।

पाठ्यक्रममा एआई
अहिले कम्प्युटर विज्ञान र इन्जिनियरिङका पाठ्यक्रममा एआईलाई समेट्ने क्रम सुरु भएको छ । हालै धेरै विश्वविद्यालयले यसलाई इलेक्टिभ कोर्सका रुपमा ल्याएका छन् । यसअघि स्नातकतहमा एआई विषय समावेश गरे पनि स्पेसलाइज्ड रुपमा डिप लर्निङ, मेसिन लर्निङका कोर्सहरु समावेश गरिएको थिएन । त्रिभुवन विश्वविद्यालय, काठमडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालयलगायतले यससम्बन्धी कोर्स सञ्चालन गरिरहेका छन् ।

धेरैले इन्डस्ट्री ओरियन्टेड पाठ्यक्रम ल्याएको दाबी गरेपनि व्यावहारिक ज्ञान र रिसर्चमा उपयुक्त प्रगति हुन सकेको देखिँदैन । एआई वा यसका विभिन्न क्षेत्रसम्बन्धी डिग्री लिएका विद्यार्थीहरु उद्योगमा छिर्नुअघि म्याथमेटिक्स र अल्गोरिदममा अब्बल हुनुपर्ने जानकारहरु बताउँछन् । 

सफ्टवेयरलाई अटोमेसनमा ल्याउने कार्य जटिल र संवेदनशील हुने भएकाले यस्तो शिक्षा कुनै एक्सपर्टको भरमा नभई आफैंले सिकेर जानिने उनीहरु बताउँछन् । भर्खरै एआईको ‘फन्डामेन्टल एजुकेसन’ लिएका फ्रेस ग्य्राजुएट्सलाई इन्डस्ट्रीमा जान अप्ठ्यारो परिरहेको सन्दर्भमा एप्लाइड एजुकेसन र पर्याप्त वर्कसप र सेमिनार गर्नुपर्ने आवश्यकता छ ।

नेपालमा पनि एआईसँग सम्बन्धित केही अनुसन्धानहरु भएका छन् । कम्प्युटरसँग सम्बन्धित केही विश्वविद्यालयका कोर्सहरुमा समेत अन्डरग्य्राजुएट र ग्य्राजुएट रिसर्च प्रोजेक्टहरु भएको देखिन्छ । तर ठूलो स्केलमा एआई सिस्टमहरु सञ्चालनमा भने आउन सकिरहेका छैनन् । एआईका लागि लिस्प, पाइथन, प्रोलग, जाभा, सी प्लस प्लसजस्ता प्रोग्रामिङ ल्याङ्ग्वेजहरु प्रयोग हुने गरेको छ ।

फ्युज मेसिनको एआई फेलोसिप
नेपालमै एआई इन्जिनियरको विकास गर्ने उद्देश्यले फ्युज मेसिनले गतवर्षदेखि एआई फेलोसिप सुरु गरेको छ । यसअन्तर्गत पहिलो र दोस्रो ब्याचमा २७/२७ जना गरी ५६ नेपाली प्रतिभावले क्याम्बिज विश्वविद्यालयको एक वर्षका माइक्रो मास्टर्स डिग्री अनलाइनबाटै पढ्न पाए भने नयाँ संस्करणका लागि तयारी भइरहेकाे छ । यसको स्पोन्सर फ्युज मेसिन इंकले गरेको हो । यो कम्पनीले आगामी ४ वर्षभित्र नेपालबाट २ हजार एआई इन्जिनियरहरु उत्पादन गर्ने लक्ष्य राखेको छ । 

एआई कार्यक्रमको आकर्षण
पछिल्ला दिनमा नेपालमा एआईसम्बन्धित कार्यक्रमहरु काठमाडौंमा नियमित सञ्चालन हुने गरेका छन् । यस्ता मिटअप, सेमिनार र वर्कसपमा सहभागीहरु बढिरहेका छन् । हालै मात्र आर्टिफिसियल इन्टेलिजेन्स इन्थुजिएस्टहरुलक्षित ‘एआई : आर्टिफिसियल इन्टेलिजेन्स डेभलपर्स नेपाल’ नामको कम्युनिटी सुरु गरिएको थियो, जसले हरेक शनिबार गरी १४ हप्तासम्म एआईसम्बन्धी सिप सिक्न, सेयर गर्न र ग्रो गर्न सहयोग पुर्याउने कार्यक्रम राखेको छ । 

त्यस्तै फ्युज मेसिन नेपालले यससम्बन्धी ल्याएका विभिन्न कार्यक्रममा सयौं युवाकाे चासाे बढेकाे छ । उसले ल्याएकाे एआई फेलोसिप कार्यक्रमको तेस्रो संस्करण चलिरहेको छ भने हालै एआइ स्कलरसिप कार्यक्रम पनि ल्याएको छ ।  ‘डेभलपर्स सेसन’ नामक कम्युनिटीले हाल देशका मुख्य सहरहरुमा ‘आर्टिफिसियल इन्टेलिजेन्स एन्ड डिप लर्निङ’ विषयमा वर्कसप सञ्चालन गरिरहेको छ । 

त्यस्तै ओपन डाटा नेपालले विकासका लागि डाटाको प्रयोग र आदानप्रदानलाई प्रवद्र्धन गरिरहेको छ । अन्य केही समूहले पनि नेपालको डाटा रिलिटेड कामहरु सञ्चालन गरिरहेका छन् । साथै रोबोटिक्स एशोसिएशन अफ नेपालको ‘यन्त्र’, पुल्चोक कलेजको ‘लोकस’, काठमाडौं विश्वविद्यालयको ‘आइटी मिट’लगायतका कार्यक्रममा पनि एआई टेक्नोलोजीसम्बन्धी प्रतिस्पर्धा र प्रडक्ट सोकेस हुने गरेको छ । 

समस्या कहाँ छ ?
Image result for AIनेपालमा एआईसँग सम्बन्धित पर्याप्त रिसर्च भएको देखिँदैन । नेचुरल प्रोसेसिङ ल्याङ्ग्वेजमा काठमाडौं विश्वविद्यालयले केही वर्षदेखि गर्दै आएको भए पनि एआईको अन्य फिल्डमा संस्थागत र व्यवस्थित रुपमा अनुसन्धान भएको छैन । नेपालमा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित सिस्टम सञ्चालनमा ल्याउन नसक्नुको मुख्य कारण नै एआई सिस्टमका लागि आवश्यक पर्ने पर्याप्त डाटाकै कमी हो ।

कुनै पनि मेसिनले डाटाकै भरमा अटोमेसनको सेवा दिन सक्ने भएकाले एआई सिस्टमका लागि डाटा महत्वपूर्ण हुने असिस्टेन्ट प्रोफेसर बल बताउँछन् । अर्को समस्या भने एआईसँग सम्बन्धित विज्ञता र जनशक्तिको समस्या अझै झेलिरहेको अवस्था छ ।

 ‘मसिन लर्निङ, नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ र डाटा साइन्समा लामो समयदेखि काम गरिरहेकाहरुको कमी छ । यसले गर्दा पर्याप्त रिसर्च हुन सकिरहेको छैन,’ उनले भने । नेपाल एउटा थोरै आम्दानी भएको देश हो । एआईले समाज र विश्वलाई विश्वव्यापी रुपमा आकार दिइरहेको बेला नेपालमा यो प्रविधिप्रति प्राथमिकता दिन सकिरहेको देखिँदैन । ‘ठूला’ कम्पनीहरुले एआई सिस्टम भित्र्याउन सकिरहेका छैनन् भने यसका लागि चाहिने कन्सल्टिङ र टेक्निकल सपोर्टको भरपर्दो आधार बनिसकेको छैन ।

अहिले नेपालमा एआई र नयाँ प्रविधिमा काम गर्नका लागि सहज कर, आयात निर्यातप्रक्रियासहितको उपयुक्त नीतिको खाँचो छ । एआई स्टार्टअपलाई सहयोग गर्ने मेकानिज्मको पनि अभाव छ नेपालमा । रिसर्च बिल्डिङ टुल्समा काम गरिरहेका एआई स्टार्टअपहरु कर्पोरेट लेभलमा लाइसकेपछि समस्या खेपिरहेका छन् ।

‘चाहिने फन्ड हुँदैन । हामी एउटा स्टार्टअप हो । अरुजस्तो तत्कालै रिटर्न आउने कुरा पनि होइन । नेपालमा यसको स्कोप अझै बुझेका छैनन् । यसलाई युनिभर्सिटी लेभलदेखि बेसिक लेभलबाटै प्रमोट गर्नुपर्छ । अहिले ई लर्निङ, ई गभर्नेन्समा फन्ड धेरै आइरहेको छ । तर ल्याङ्ग्वेजमा टाइम धेरै लाग्ने, मेहनत गर्नुपर्ने एकातिर छ भने पर्याप्त बजेट पनि हुँदैन,’ केइआइभी टेक्नोलोजीजका सहसंस्थापक सन्तोष रेग्मीले भने । 

सम्भावना उत्तिकै
आर्टिफिसियल इन्टेलिजेन्समा नेपाल र नेपाली प्रतिभाका लागि धेरै अवसर र सम्भावना पनि छन् । मुख्यतः प्रविधिको यो परिवर्तनलाई आत्मसात् गर्न हाम्रा उद्योगहरु पनि पूर्ववत् तयार हुन आवश्यक देखिन्छ । ‘उद्योगहरु तयार भए डिजिटलाइजेसन र अटोमेसनले एआई सिस्टमहरु एडप्ट गर्न सघाउ पुग्छ,’ फ्युज मेसिन नेपालका प्रबन्ध निर्देशक मुकुन्दले भने । उनका अनुसार नेपालको कृषि, ऊर्जा, बैंक, हस्पिटल आदि क्षेत्रको विकासका लागि यो प्रविधि लाभदायक देखिन्छ । ‘नीतिमै यस्ता प्रविधिको उत्थान गर्न प्राथमिकता दिनुपर्यो,’ उनले भने ।

हाल नेपालमा १२३ भन्दा बढी भाषाभाषीले आफ्नो मातृभाषाको रुपमा बोल्छन् । भाषामा एआई सिस्टम लागू गराउन अटोमेटेड टान्सलेसन र स्पिच रिकग्निसनजस्ता सिस्टमको विकास गर्न सकिने हो भने सार्वजनिक सेवा वा अन्य प्रयोजनमा जनताले उच्चस्तरको सेवा र सुविधा पाउन सक्छन् । काम गर्न सक्छन् । एआई सिस्टम प्रयोग गर्न बैंकहरु बढी इच्छुक देखिएको फ्युजमेसिनका मुकुन्द बताउँछन् ।

दूरसञ्चार कम्पनी, एयरलाइन्सजस्ता ठूला कम्पनी जहाँ मल्टिफङ्सन हुन्छ त्यस्ता ठाउँमा अटोमेसन भयो भने राम्रो हुन्छ ।  त्यस्तै नेपाल अहिले संघीयता प्रणालीमा गएको सन्दर्भमा पनि लोकतन्त्रविपरीतका कार्यलाई रोक्न, ई-गभर्नेन्स सेवालाई प्रभावकारी बनाउन एआई सिस्टमले नियमन र नियन्त्रण गर्न सक्छ । यसर्थ एआईजस्तो हाई टेक्नोलोजीमा विकसित देशले मात्रै होइन, विकासशील देशका मानिसहरुले पनि पर्याप्त अवसरका साथ काम गर्न सक्छन् ।

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा