बुधबार, १३ चैत, २०७५
Wednesday, 27 March, 2019

नेपाली आइटी कम्पनीका ५ समस्या

द्राेण पराजुली
महासचिव, वेब एशाेसिएशन नेपाल (वान)

१. बिना धितो सहुलियत दरमा ऋण प्रवाह नहुनु
स्टार्टअपलाई प्रवद्र्धन गर्ने भन्दै न्यूनतम ५ लाखदेखि ५ करोडसम्मको बिना धितोमा सहुलियत दरमा ऋण प्रवाह गर्नुपर्छ । आइटी कम्पनीका लागि यो आकर्षक अवसर हुने थियो । स्टार्टअपले पेश गरेका प्रस्तावनाको मूल्याकंन गरिसकेपछि सरकार त्यसमा फन्डिङ गर्न बाध्य हुनुपर्छ । यसले गर्दा इन्नोभेटिभ आइडियामा काम गर्ने प्लाटफर्म बढ्ने थियो । हचुवाका भरमा जो कोही कम्पनीलाई कर्जा दिने कुरा पनि हुँदैन ।  यसका लागि ‘क’ वर्गका बैंकहरुलाई नीति बनाएर पठाइदिने र राष्टबैंकले नियमन गर्ने गरी कार्यक्रम ल्याउने हो भने देशमा पचासौ हजार थप रोजगारी हुनेछ । 

२. संस्थागत विकासमा ध्यान नपुग्नु
नेपालमा न आइटी कम्पनीको यकिन तथ्याकं छ न इन्जिनियर र अन्य जनशक्तिको । आइटी कलेजबाट ठ्याक्कै कति जनशक्ति उत्पादन भइरहेका छन्, त्यसको आधिकारिक तथ्याकं कोहीसँग छैन । यस्तो भद्रगोल अवस्था छ । सबै डाटा संकलन गरेर सेन्ट्रल डाटाबेस सिस्टम बनाउने हो भने हाम्रो स्थान के छ, सम्भावना के छ, त्यसको खाका आउने थियो । इन्टरनेश्नल प्रोजेक्टहरुमा हामी काम गर्न सक्छौं भन्ने प्रमाण दिन सक्ने थियौं । अहिले ठूला ठूला प्रोजेक्ट नेपालीले गर्न सक्दैनन् भन्ने नाममा विदेशी कम्पनीले पैसा लगिरहेका छन् । 

३. अस्तव्यस्त बजार
आइटीसम्बन्धी सेवामूलक कामको ठ्याक्कै यति मूल्य भन्न हामीलाई कठिन भएपनि कम्तिमा व्यवस्थित गर्न सकिन्थ्यो । प्रोजेक्टको माइलेज, रिक्वायरमेन्ट, फिचर आदिका आधारमा प्राइस रेञ्ज निर्धारण गर्न सकिन्थ्यो । मूल्यमा १० देखि २० प्रतिशत फरक पर्ला । ५ लाखको सट्टामा ५० हजार तलमाथि पर्ला । तर ५ लाखको सट्टा २५ लाख वा ५ हजार भन्ने त हुँदैन ।  तर अहिले नेपालमा यस्तै भइरहेको छ । मार्केट अस्तव्यस्त छ । यहाँ ५ हजारमा काम गर्ने पनि छन् । २५ लाखमा काम गर्ने पनि छन् । अब हामीले राष्ट्रिय किसिमको बहस चलाऔं । डाइनामिक वेबसाइट, ई–कमर्स, न्युज पोर्टलको यति मूल्य, सर्भर, सपोर्ट, सेक्यु्रिटीको यति मूल्य भनेर राखौं । अनि हामी ढुक्कले काम गथ्र्यौं । बार्गेनिङ नि हुँदैन । सबैले उही क्वालिटीको सर्भिस दिन सक्ने थिए । 

४. राष्टिय परियोजनाको प्राथमिकतामा नपर्नु
नेपाली कम्पनीले ठूला इआरपी प्रोजेक्ट गर्नै सक्दैनन् भन्ने आशयले विदेशी कम्पनीलाई नै जिम्मा लगाइदै आइएको छ । हाम्रो कमजोर धरातल छ, कमजोर इन्जिनियर छन् भन्ने नाममा अर्बौ रुपियाँ विदेश पठाउन सक्ने, तर नेपाली कम्पनीलाई प्रोत्साहन गर्ने, विश्वास गर्न नसक्ने वा विश्वास गर्न लायक नबनाउने पनि राज्य र केही ठूला व्यापारी नै हुन् । कुन कम्पनीले कस्तो खालको परफमेन्स दिन सक्छ, हामीसँग कस्तो सम्भावना छ, कस्ता स्किलमा काम गर्न सक्छौं भनेर लिस्ट बनाउने र सोअनूकलुकको माहोल बनाउनुपर्छ । एकचोटी नेपाली कम्पनीलाई अवसर दिऔं न त भन्ने सोच पनि नभएको अवस्था छ । 

५. सहकार्यको अभाव
यो गहिरो कुरा हो । क्यान महासंघ, वान, विभिन्न एशोसिएसनहरु समूहमा बाँडिनुभन्दा हामी संयुक्त रुपले काम गर्ने वातावरण होस् । हामी सबैले संस्थागत रुपमा आइटी क्षेत्रको व्यवसायिक हितका लागि काम गर्ने हो । तर आइटी क्षेत्रका लागि आवाज उठाउनेहरु नै एक जुट हुन सकिरहेका छैनौं । अर्कोतर्फ कम्पनीहरुबीच अस्वस्थ प्रतिष्पर्धा छ । यसतर्फ ध्यान दिनुपर्ने बेला आएको छ । 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा