सोमबार, ३० भदौ, २०७६
Monday, 16 September, 2019
Skip Advt.

इन्टरनेटमा बच्चालाई कसरी सुरक्षित राख्ने ? 

संसारभरी इन्टरनेटको व्यापक प्रयोगसँगै नेपालमा पनि हातहातमा मोबाइल फोन र घरघरमा इन्टरनेट घरघर पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लाे प्रतिवेदनअनुसार कुल जनसंख्याको ५८.९८ प्रतिशत नेपालीले ब्रोडब्याण्ड इन्टरनेट प्रयोग गर्छन् । Image result for anil raghuvanshiइन्टरनेटको सही प्रयोगले देशविदेशका समाचार थाहा पाउन, टाढा बसेका साथी र परिवारसँग सजिलै कुरा गर्न सम्भव भएको छ । यसैगरी इन्टरनेटले मनोरञ्जन र ज्ञानविज्ञानको विशाल भण्डारको साँचो पनि हातहातमा पुर्याइदिएकोे छ । यसले बालबालिकाको शैक्षिक, बौद्धिक तथा व्यक्तित्व विकासका साथै सामाजिक सम्बन्ध विस्तारमा समेत अतुलनीय सहयोग पुर्याइरहेकोे छ ।

तर इन्टरनेटको गलत प्रयोगले धेरैलाई, विशेषगरी बालबालिका र युवालाई असुरक्षित बनाइरहेकोे छ । साइबर सुरक्षाबारे चेतनाको कमीले गर्दा अपराधीहरूले इन्टरनेट र यसका माध्यमबाट सञ्चालन गरिने सामाजिक सञ्जालहरूलाई दुरुपयोग गर्न थालेका छन् । त्यसैले, साइबर अपराधबाट बच्न यसबारे सचेत हुन र इन्टरनेटको सुरक्षित प्रयोग गर्न जान्न आवश्यक छ ।

इन्टरनेटमा बालबालिका कसरी जोखिममा पर्न सक्छन् ?

  1. साइबर सुरक्षाबारे अज्ञान :  इन्टरनेटमा व्यक्तिगत गोपनीयता (प्राइभेसी) तथा निजी सामग्रीको सुरक्षा, भाइरस र सूचना चोर्ने वा अन्य हानीकारक वेबसाइट र प्रोग्रामलाई छेक्ने उपायबारे थाहा नहुँदा बालबालिका जोखिममा पर्न सक्छन् ।
  2. कमजोर पासवर्ड : १२३४५ वा आफ्नो नाम जस्ता सजिलै अनुमान गर्न सकिने कमजोर पासवर्ड राख्दा, पासवर्ड बेलाबेलामा नफेर्दा वा साथीसँग शेयर गर्दा पनि बालबालिका खतरामा पर्छन् ।
  3. नचिनेका मानिससँग अनलाइन सम्पर्क : अनलाइन साथीको संख्या बढाउन नचिनेकासँग पनि सम्पर्क जोड्ने, फेसबुकमा आफ्ना व्यक्तिगत कुरा र तस्बिर सबैले देख्न सक्नेगरी राख्ने बानीले बालबालिकालाई जोखिममा पार्न सक्छ । अनलाइनमा बनाइएका राम्ररी नचिनेका साथीबाट भाइरस आक्रमण, सूचनाको चोरी, अनलाइन यौन शोषण, ठगी, हेपाइजस्ता नराम्रा काम हुन सक्छन् । 
  4. बालसुलभ जिज्ञासा : सामाजिक सञ्जालमा राम्ररी नचिनेका अनलाइन साथीले राखेका प्रस्ताव तथा नयाँ वेबसाइट, एप्स र गेम (जुन हानिकारक पनि हुन सक्छ) प्रतिको जिज्ञासाले बालबालिका यौन शोषण, ठगी र हेपाइ जस्ता जोखिममा पर्न सक्छन् । 
  5. लोभलालच : फेसबुक, ट्वीटर, भाइबर, मेसेञ्जर, ह्वाट्सएप, एसएमएस तथा ईमेल समेतबाट ठग्नका लागि पठाइने झूठा चिठ्ठा, पुरस्कार, विदेश जाने अवसर जस्ता जालमा फसेर पनि बालबालिका साइबर अपराधको शिकार बन्न सक्छन् । 
  6. मार्ग निर्देशनको अभाव : साइबर सुरक्षाबारे अभिभावक तथा शिक्षकहरूले जानकारी गराउने चलन नभएकोले पनि बालबालिका जोखिममा पर्ने गरेका छन् । साइबर कानून र सजायबारे थाहा नहुँदा केही बालबालिकाले फेक (नक्कली) आईडी बनाएर अरूलाई दुःख दिइरहेका हुन सक्छन् । फेक आईडी पत्ता लगाएर कारबाही गर्न सकिन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।

इन्टरनेटमा बालबालिकालाई सुरक्षित राख्न के गर्ने, के नगर्ने ?

  1.  बलियो पासवर्ड राख्ने, बेला बेलामा फेर्ने र पासवर्ड कसैलाई पनि नदिने । 
  2.  सामाजिक सञ्जालमा प्राइभेसी सेटिङ मिलाएर गोप्य कुरा सुरक्षित राख्ने ।
  3.  बालबालिकालाई कसैले अनलाइनमा दुःख दिएमा आमाबुबा, सर/मिस वा विश्वासिलो साथीलाई भन्ने ।
  4.  दुःख दिने खराब ‘अनलाइन साथी’लाई ब्लक गर्नुका साथै रिपोर्ट गर्ने ।
  5.  राम्ररी नचिनेकालाई अनलाइनमा साथी नबनाउने ।
  6.  अनलाइनमा बनाइएका साथीसँग फोन नं. र गोप्य राख्नुपर्ने कुरा शेयर नगर्ने ।
  7.  आफूलाई नराम्रो र अप्ठ्यारो पार्न सक्ने फोटो र भिडियो फोन, कम्प्युटर र फेसबुकमा नराख्ने, अरूलाई नपठाउने ।

(लेखक बालबालिका र युवाहरुको इन्टरनेट प्रयोग सुरक्षित बनाउन कार्यरत संस्था चाइल्डसेफनेटका संस्थापक अध्यक्ष हुनुहुन्छ ।)
    
 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा