बुधबार, १० असोज, २०७५
Wednesday, 26 September, 2018

१७ वर्षिय दिपेशको इथिकल ह्याकर बन्ने सपना

भरतपुर–६, गीतानगरका दिपेश अहिले १७ वर्षका भए । १० कक्षा पढ्छन् । अमरबस्तीस्थित श्री अमरज्योती इंग्लिस बोर्डिङमा पढ्ने उनको लगाव र मोह भने भिन्न किसिमको छ । अरु विद्यार्थी पढाइका साथमा फेसबुक चलाउँछन् । गेम खेल्छन् । साथीहरुले ख्यालठट्टा गरेरै समय कटाइरहँदा दिपेश भने प्रायः इन्टरनेटमै घोत्लिरहेका हुन्छन् ।

खाली समय पाउनासाथ गुगलमा ह्याकिङ ट्रिक्सहरुको खोजी गर्छन् । ह्याकिङ सिकाउने वेबसाइटहरु भिजिट गर्छन् । सिनियर दाइहरुसँग सहयोग माग्छन् । सानैदेखि ‘कम्प्युटर मोह’ रहेको बताउने उनी भविष्यमा सेक्युरिटी एक्सपर्ट बन्न चाहन्छन् । नेपालमै बसेर नेपालको साइबरस्पेस जोगाउने र भोलीको सुरक्षित डिजिटल नेपालका लागि काम गर्ने धोको छ उनको ।

अहिले नेपालमा १४/१५ उमेरका किशोरहरु बग बाउन्टीमा रुचीका साथ काम गरिरहेका छन् । उनीहरुलाई थप हौसला दिन र सकारात्मक कामका लागि  इथिकल ह्याकिङ गर्न प्रेरित गर्ने उद्धेश्यले लिभिङ विथ आइसिटीले विभिन्न लेखरचना र अन्तर्वार्तालाई स्थान दिइरहेको छ । यसैबीच दिपेशसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरेका छौं ः

कसरी रुची जाग्यो यस्तो काममा ?
म ४ कक्षामा हुँदा बुवाले बिदेशबाट कप्युटर ल्याइदिनु भएको थियो । मेरो लागि त्यो समयमा एउटा कम्प्युटर हुनु भनेको ठूलो कुरा थियो ।  वेबसाइट चलाउन, कम्प्युटर चलाउन जान्ने बनाउनमा बुवाको ठूलो हात  छ । म प्रायः खाली समयमा ह्याकि ट्रिक्सहरु नै खोज्छु । बग बाउन्टीमा विशेष रुची छ । यसकारण भविष्य पनि यो क्षेत्रमै बनाउने निधो गरेको छु ।

तर नेपाल मा अझै बग बाउन्टी कल्चर खास्सै देखिएको जस्तो लाग्दैन नि ? 
नेपालमा अझै बग बाउन्टी प्रोग्रामको कल्चर छैन । मानिसहरु अझै पनि ह्याकिङ शब्द सुन्ने बित्तिकै अपराध भन्ने बुझ्छन् । दिनदिनै गभर्मेन्ट र  अर्गनाइजेसनका साइटहरु ह्याक भइरहेको सुनिरहेका हुन्छौं । कतिपय विदेशी  ह्याकरहरुले नेपाल आएर बैङ्क एटिएम ह्याक गरेको समाचार सुनेका हुन्छौं । इन्फर्मेसन टेक्नोलोजी सेक्युरिटी इमर्जेन्सी टिम छ रे भन्ने  त सुनेको छु । तर, उनीहरुको उपस्थिति खासै देखिदैन । साँच्चिकै भन्ने हो भने नेपालका कम्पनीहरुले साइट ह्याकलाई सामान्य घटनाको रुपमा लिन्छन् । यसले भविष्यमा उनीहरुलाई नै घाटा दिने हो ।

तपाईले गर्न चाहेको काममा कत्तिको हौसला र सहयोग पाइरहनु भएको छ ?
साथी भाइहरु र यससम्बन्धी जाने बुझेकाहरुले धेरै हौसला दिइरहनु भएको छ । तिमी  गर्न सक्छौ भन्नुहुन्छ । उहाँहरुको हौसला पाएर नै म गर्न सक्छु कि जस्तो लाएर अगाडि बढ्दै छु । मेरा धेरै साथी दाजुभाइहरुलाई थाहा  छैन म के गर्छु भनेर । ज–जसलाई थाहा छ, मैले रुचि राखेको कामलाई राम्रो छ भनिरहनु भएको छ । मैले अहिले दाइहरुकै सहयोगका कारण केही साइटका बगहरु पत्ता लगाएको छु । अहिले नै बग खोज्न त सक्छु होला । तर, सब सिकीसकेपछि प्रोफेसनल हिसाबले बग खोज्ने प्लानमा छु । अहिले त प्रायः सिकिरहेकै हुन्छु ।

बग बाउन्टीमा नेपालमा तपाईजस्तै काम गर्ने वा सिकिरहने कति हुनुहुन्छ ? 
जहाँसम्म लाग्छ, नेपालमा बग बाउन्टीमा लागेका मानिसहरु अरु देशमा देखिने एक्टिम मेम्बरभन्दा कम नै छन् । मैले थाहा पाएका केही दाइहरु विभिन्न कम्पनीमा बग बाउन्टी गर्नुहुन्छ । मेरो विचारमा यो संख्या १५/२० जति छ । धेरै मानिसहरु अझै सिकिरहनुभएको छ । म पनि सिक्दै  छु ।

तपाइले रुचि राख्नु भएको कामबाट परिवार, आफन्त साथिभाइ र शिक्षकहरुको रेस्पोन्स कस्तो छ ?
पारिवारबाट त निकै गाली खान्थे । जतिखेर नि मोबाइल, ल्यापटप जति खेर नि नेट, पढाइबाहेक आउट एक्टिभिटीमा रुचि राखेकोले नराम्रो काम  गरिराछ कि भन्नुहुन्थ्यो । तर, अहिले यससम्बन्धी जानेबुझेकाबाट  बुवाममीले जानकारी पाउदै जानुभएको छ । त्यसैले अहिले पहिलेभन्दा हल्का पोजेटिभ नै हुनुभाको जस्तो लाग्छ मलाइ । मेरो लागि बुवाममीको एउटै मात्र भनाइ थियो, जे गर्छस राम्रो  गर्, नराम्रो  नगर् भन्नु हुन्छ ।

अहिले साइट ह्याकहरु बारम्बार ह्याक भइरहेका छन् । तपाईको विचारमा यस्ता घटना रोक्न के गर्नपर्ला ?
दिनहुँ सरकारी र अन्य संघसंस्थाका साइटहरु  ह्याक भैरहेको छ । बाहिरबाट टुरिस्ट ह्याकरहरु नेपाल आएर बैंक एटिएमहरु ह्याक गरेको समाचारहरु हामीले सुनीरहेका हुन्छौं । तर, यस्तो घटना कम गर्नभन्दा पनि कम्पनीहरु गुपचुप  बस्ने अनि सरकारले पनि सेक्युरिटीका लागि बलियो कानून नल्याइदिने अवस्थाका कारण ह्याकिङको घटना नरोकिएको  हुन् । यसरी मुख्य कुरा भनेकै नेपालीहरु लाई  ह्याकिङबारे केही जानकारी  छैन । साइट ह्याक हुनुभन्दा अघि नै सेक्युरिटी अडिट गर्न दियो भने   साइटको सुरक्षा हुन्छ । अनि सरकारले साइबर  सेक्युरिटी सम्बन्धी  पब्लिक अवेयरनेशका प्रोग्रामहरु गरे केही सुधार हुन सक्छ ।

बग बाउन्टीमा रुची राख्ने साथीहरुलाई के सल्लाह दिनुहुन्छ ?
केही गर्न सकिन भनेर फ्रस्ट्रेड हुनुभन्दा जसरी नी गर्छु, अनि एक दिन सफल भइन्छ भनेर काममा लगाव दिइरहनु पर्छ । जति एउटै कुरामा इन्ट्रेस्ट राख्यो, त्यति नै कन्सन्ट्रेसन पावर पनि बढ्दछ । नेटमा सबै कुरा छ, हामीले वेबसाइट चलाउने, गुगल गर्ने बानी गर्नुपर्छ । इथिकल  ह्याकिङ भनेर fame , things , $$$$´s मात्र  हेर्नेभन्दा पनि नयाँ  रिसर्च गर्ने कोशिस गर्नुपर्छ  । पहिले त बेसिक नलेज हुनुपर्छ । सेक्युरिटी एक्स्पर्ट्सहरुको रिसर्च पेपर पनि पढ्नुपर्छ ।

बग बाउन्टी प्रोग्रामहरुको भविष्यमा नेपालमा कस्तो देख्नुहुन्छ ?
नेपाल अहिले विस्तारै डिजिटाइज हुने क्रममा छ । पासपोर्ट,  लाइसेन्सजस्ता सरकारी कामहरु अन्लानमा आधारित हुँदै छ । प्राइभेट सेक्टर पनि अनलाइनमै फोकस भएर आइरहेका छन् । अनलाइनमा आएपछि अवसर मात्रै होइन, जोखिम पनि रहन्छ । यसर्थ, डाटा प्रोटेक्सनका लागि पनि सेक्युरिटीमा ध्यान दिनैपर्छ । यदी ध्यान दिइयो भने बग बाउन्टीको भविष्य पनि व्यवसायिक भएर आउँछ जस्तो लाग्छ । 

तपाईंको भविष्यको योजना नि ?
पहिला त पढाइ नै हो । अहिले १० कक्षा पढिरहेको छु । एसइई सक्छु । यसपछि अझै व्यवस्थित रुपमा प्लान बनाउँछु । अब हाम्रो देशमा पनि सेक्युरिटी धेरै नै महत्वपूर्ण बनेर आएको जस्तो लाग्छ । यसकारण मैले जे जति सीप जानेको छु, यही फिल्डमा प्रयोग गर्ने  सोचेको छु । आउने दिनहरुमा आफ्नै देश नेपालमै बसेर इथिकल ह्याकरको रुपमा सेक्युरिटीमा परिवर्तन ल्याउने मन छ ।

सम्बन्धित समाचार